पदक विजेता खेलाडीले पाए एसियाली खेलकुदको पुरस्कार

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
पदक विजेता खेलाडीले पाए एसियाली खेलकुदको पुरस्कार

काठमाडौं । एसियाली खेलकुदमा पदक विजेता कराते र कबड्डीका साथै टी-ट्वेन्टी विश्वकपमा छनोट भएको नेपाली पुरुष क्रिकेट टिमलाई सरकारले पुरस्कार बापतको रकम हस्तान्तरण गरेको छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पदभार ग्रहण गरेको सय दिनको उपलक्ष्यमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनसहित खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको हो ।

१९औं एसियाली खेलकुदमा पदक विजेता कराते खेलाडी एरिका गुरुङले राष्ट्रिय खेलकुद परिषद्को पुरस्कार नियमावलीअनुसार १९ लाख ५० हजार पाउनुभएको छ । उहाँले एसियाडमा रजत जित्नुभएको थियो ।

कराते प्रशिक्षक कुशल श्रेष्ठसहित कराते टिमले समग्रमा ५२ लाख १० हजार प्राप्त गर्यो । एसियाडमा कास्य पदक जितेको कबड्डी टिमका १२ खेलाडीसहित टिमलाई सरकारले ५२ लाख १० हजारले सम्मान गरेको छ ।

चौथौ एसियाली पारा खेलकुदमा स्वर्ण जित्नुभएकी पलेशा गोवर्द्धनले १३ लाख र प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक राम श्रेष्ठले एक लाख ३० हजार पाउनुभयो ।

एसिया क्षेत्रीय छनोटबाट विश्वकपमा पुगेको क्रिकेट टिमले समग्रमा दुई करोड चार लाख ७५ हजार नगद पाएको छ । छनोटमा दोस्रो भएर विश्वकप पुगेको टिमका हरेक खेलाडीले १३ लाखका दरले पुरस्कार पाएका हुन् ।

मुख्य प्रशिक्षक मोन्टी देशाईलाई तीन लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही, फिजियो विक्रम न्यौपाने र व्यवस्थापक सुमन कार्कीलाई समान एक लाख ९५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.