सिन्धुपाल्चोकको इन्द्रावतीमा तीतेपातीबाट तेल उत्पादन

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकको इन्द्रावतीमा तीतेपातीबाट तेल उत्पादन

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन सुरु भएको छ । इन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तितेपातीबाट तेल उत्पादन सुरु भएको वडा नम्बर-५ का अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिनुभयो ।

‘खेर जाने तितेपातीबाट तेल बनेको छ, अब पालिकाको खेर गएको जमिनमा तितेपाती खेती गर्न प्रोत्सहान गरिनेछ’, वडाध्यक्ष आचार्यले भन्नुभयो, 'यसलाई बाँदरले पनि केही नगर्ने हुँदा किसानले तितेपाती खेतीबाट आम्दानी गर्न सक्नेछन्।’ 

पालिकाले किसानलाई मेसिननद्वारा तेल बनाउन ५ दिने तालिमसमेत दिएको छ ।

तितेपातीबाट उत्पादित वनस्पति तेल बहुउपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजार रुपैयाँभन्दा बढीमा बिक्री गर्ने सकिने कार्यक्रम सहजकर्ता बुद्धिरत्न डंगोलले जनाउनु भयो । 

‘अन्तर्राष्ट्रिय बजारमा अहिले यो तेलको उच्च माग छ,’ डंगोलले भन्नुभयो, ‘स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन्, स्थानीय सरकारले त्यसको पहिचान गर्ने र उद्योग सञ्चालन गर्ने हो भने धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ ।'

तितेपातीको गुणस्तर हेरेर ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म प्रतिकिलो मूल्य रहेको डंगोलले जनाउनु भयो । 

‘पातपछाडि जति धेरै भुवा भयो उति गुणस्तर मानिन्छ, यस्तो खालको तितेपाती प्रतिकिलो ८० रुपैयाँसम्म बिक्री हुन्छ,’ डंगोलको भनाइ छ, ‘गाउँघरमा तितेपाती काटेर फाल्ने, जलाउने गरिन्छ । त्यो भनेको तितेपाती जलाएको होइनौं पैसा जलाएका हौं, फालेका हौं।’

घरेलु रक्सी बनाएजस्तै तरिकाले तीतेपातीको तेल उत्पादन हुने डंगोलले बताउनु भयो । घरेलु रक्सी बनाउँदा भाँडामा बस्ने भए पनि तितेपातीको तेल बनाउँदा उडेर जाने भएकाले हाइड्रो डष्टिलेट नामको मेसिनबाट यसको तेल उत्पादन गरिने डंगोलले जनाउनु भयो ।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय जडीबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्न पालिका लागिपरेको बताउनु भयो । भन्नुभयो, ‘हामी स्थानीयलाई कसरी स्वरोजगार बनाउने र आर्थिक रुपमा बलियो बनाउने भन्ने विषयमा गम्भीर छौं । तितेपाती खेती गर्ने र यसबाट तेल उत्पादन गरी बिक्री वितरण गर्ने हो भने पालिकाबासी समृद्ध हुन सक्छन् ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement