विजयनगर गाउँपालिकामा जन्मिने छोरीको बैंक खातामा १५ हजार

असार १२, २०८१ |मनोज पौडेल
विजयनगर गाउँपालिकामा जन्मिने छोरीको बैंक खातामा १५ हजार

कपिलवस्तु । कपिलवस्तुको पश्चिमा रहेको विजयनगर गाउँपालिकाले छोरीप्रति सम्मान र विश्वास बढाउन ‘छोरी बचाऔं, छोरी पढाऔं’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो जन्मने सन्तान छोरीको नाममा पालिकाले नै बैंक खाता खोलेर रकम जम्मा गरिदिने गरेको छ । तराई-मधेशमा छोरीप्रतिको विभेद हटाउन र उनीहरुलाई पनि समान अवसर तथा सहभागिताका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको दाबी छ ।

गाउँपालिकाले तीन वर्षदेखि पहिलो सन्तान हुने छोरीको नाममा बैंक खाता खोलेर १५ हजार रुपैयाँ जम्मा गरिदिने गरेको छ । पालिकाले छोरीको नाममा १५ हजार राख्दा परिवारले कम्तीमा ५ हजार थप्नुपर्छ । बीचबीचमा पनि परिवारले थप रकम जम्मा गर्न सक्नेछन् ।

अभिभावक संरक्षक भई छोरीकै नामबाट सञ्चालन हुने उक्त खाताबाट १८ वर्षपछि मात्रै रकम निकाल्न पाइनेछ । उक्त अवधिसम्म रकम करिब एक लाख पुग्ने गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा सुरु भएको यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिलेसम्म १ सय ६३ जना छोरीको नाममा जनही १५ हजार दिएर खाता सञ्चालन गरेको छ । छोरी खाताका लागि २४ लाख ४५ हजार खर्च भएको गाउँपालिका अध्यक्ष गोपाल थापा बताउनुहुन्छ ।

गाउँपालिकाले गर्भवतीले स्वास्थ्य संस्थामा चारपटक स्वास्थ्य परीक्षण गराउनुपर्ने, सरकारी मान्यता प्राप्त स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनुपर्ने र जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने सर्त राखेको छ । विवाह दर्ता प्रमाणपत्र र नियमित खोप पनि लगाएको हुनुपर्नेछ । ‘५ हजार मैले र १५ हजार गाउँपालिकाले छोरीको नाममा राखिदिएको छ । छोरीको शिक्षादीक्षाका लागि यसले सहयोग गर्छ,’ विजयनगर ६, कपिलवस्तुकी रिना लोध बताउनुहुन्छ ।

यो कार्यक्रमले लिंग पहिचान गरेर गर्भपतन गर्ने, सानै उमेरमा विवाह गराइदिने र जन्म दर्ता नगराउने प्रवृत्ति पनि कम हुने अपेक्षा गरिएको छ । लैंगिक हिंसा न्यूनीकरणमा पनि सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।

यस्तो कार्यक्रमले विस्तारै सकारात्मक प्रभाव पर्दै गएको गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् । छोरीलक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने विजयनगर जिल्लाकै पहिलो पहिलो गाउँपालिका हो ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement