लमजुङमा पहिरोमा परी चार जना बेपत्ता, एक जनाको मृत्यु

असार १२, २०८१ |आश गुरुङ
लमजुङमा पहिरोमा परी चार जना बेपत्ता, एक जनाको मृत्यु

लमजुङ । अविरल बर्षासँगै आएको पहिरोले लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा ३ घर बगाउँदा चारजना बेपत्ता भएका छन् ।

गएराति बगुमस्थित पच्यु टोलमा पहिरो गएको हो । स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ ।

पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षीया पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ बर्षीया नम्रता गुरूङ बेपत्ता भएको क्व्होलासोथार-३ का वडाअध्यक्ष आशविर गुरुङले जनाउनु भयो ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल तर्फ गएको छ । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।

त्यसैगरी, गएरातिकै पहिरोका कारण दोर्दी गाउँपालिका-९ टक्सारमा एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले कोठामा सुतिरहेका दुईजना गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारका लागि बेँसीशहरस्थित जिल्ला अस्पतालमा ल्याइएकोमा १६ वर्षीय बिकल सुनारको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ। घाइतेमध्ये १८ वर्षीय मिलन सुनारको लमजुङ अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोकै कारण बेँसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ । बेसीशहर-६ खरखरेमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement