टी-ट्वेन्टी विश्वकप : आफ्नो अन्तिम खेलमा नेपालले भोलि बिहान बंगलादेशको सामना गर्ने

टेस्ट राष्ट्रलाई हराउँदै प्रतियोगिताको सुखद् अन्त्य गर्ने नेपालको लक्ष्य
असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
टी-ट्वेन्टी विश्वकप : आफ्नो अन्तिम खेलमा नेपालले भोलि बिहान बंगलादेशको सामना गर्ने

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोलि (सोमबार) बिहान बंगलादेशसँग खेल्दै छ । दुई हार र एक बराबरीसँगै विश्वकपबाट बाहिरिइसकेको नेपाल भोलि बंगलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । यति मात्रै होइन, नेपाललाई टेस्ट राष्ट्रलाई पराजित गर्ने अवसर पनि छ ।

मौसम र भाग्यले साथ नदिए पनि आफ्नो प्रदर्शनले विश्वको ध्यान खिच्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार बिहान दक्षिण एसियाली छिमेकी बंगलादेशसँग खेल्दै आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ को आफ्नो यात्रा समाप्त गर्दै छ ।

दक्षिण अफ्रिकाविरुद्ध शनिबार एक रनले पराजित भएपछि नेपालको सुपर एटमा पुग्ने लक्ष्य अधुरै रहृयो । सुपर एटमा पुग्ने सम्भावना समाप्त भए पनि नेपालका लागि यो खेल समर्थकहरुलाई खुसी बनाउने अवसर हो । त्यसकारण नेपाल जितसहित प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा हुनेछ । बंगलादेशलाई भने अघिल्लो चरण पुग्न नेपालविरुद्ध जित्नैपर्ने दबाब छ ।

यस विश्वकपमा नेपालको यात्रा सुखद रहेन । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा नेपाललाई मौसमले साथ दिएन । वर्षा र टस दुवै नेपालको विपक्षमा रहे । श्रीलंकासँगको खेल रद्द भएपछि नेपालले एक खेल मात्र गुमाएन दक्षिण एसियाली छिमेकीविरुद्ध पहिलोपटक खेल्दै जित हात पार्ने अवसर पनि गुमायो ।

तेस्रो खेल नेपालका लागि दुर्भाग्यपूर्ण रहृयो । दक्षिण अफ्रिकाविरुद्ध जितिसकेको खेल १ रनले हारेपछि सिंगो देश निराश भयो । यस हारले नेपालको सुपर एट पुग्ने लक्ष्य एक खेलअगावै समाप्त भयो । सुपर एटसम्म पुग्न सकेको भए नेपाल २०२६ टी-ट्वेन्टी विश्वकपमा सिधै छनोट हुने थियो । यसबाहेक नेपालले अन्य थुप्रै कुरा गुमायो ।

तर रोहित पौडेलको टोली त्यस हारबाट निराश भने छैन । आसिफ र अनिल साहको ब्याटिङ प्रदर्शन कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको विकेट टेकिङ स्पेलमा सन्दीपको किफायती बलिङ, सोमपाल कामीको १ सय ५ मिटर लामो छक्का र खेलभर नेपालका कारण अफ्रिकी खेलाडीहरुमा देखिएको दबाब र तनाव, नेपालको समग्र प्रदर्शन बास्तवमै तारिफयोग्य थियो । तर अनुभवको कमीका कारण अन्यमा दबाब झेल्न नसक्दा विपक्षी एक रनले विजयी भएको थियो । यो खेल नेपालका लागि हारभन्दा पनि अहिलेसम्मको सबै भन्दा ठूलो सिकाइ बनेको छ ।

बंगलादेशका लागि भने सुपर एटमा पुग्न यो खेल जित्नैपर्ने अवस्था छ । बंगलादेशको अहिले दुई खेलमा ४ अंक छ र समूह ‘डी’ मा तेस्रो स्थानमा छ । यस समूहमा नेदरल्यान्ड्स पनि सुपर एटको दौडमा छ ।

सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा बिहान सवा ५ बजे नेपालले बंगलादेशको सामना गर्दा नेपाली समर्थकले मैदान भरिभराउ हुनेछ । यस खेलमा नेपाली र नेपालको मात्र होइन सिंगो क्रिकेट जगतको नजर हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.