अन्तिम दुई बलमा हारेको नेपाल

असार १, २०८१ |सविना कार्की
अन्तिम दुई बलमा हारेको नेपाल

सेन्ट भिन्सेन्ट । सेन्ट भिन्सेन्ट, अरनोस भेल क्रिकेट स्टेडियम । आईसीसी टी-ट्वेन्टी विश्वकप समूह चरणमा नेपाल र दक्षिण अफ्रिका भिड्दै । दक्षिण अफ्रिकाविरुद्धको खेललाई लिएर समर्थकमा छुट्टै किसिमको उत्साह थियो । थोरैको संख्यामा भए पनि अमेरिका, क्यानडा, बेलायत लगायतबाट लामो यात्रा तय गरेर नेपाली समर्थक सेन्ट भिन्सेन्ट पुगेका थिए । विश्व क्रिकेटका स्टार खेलाडी भएको दक्षिण अफ्रिकासँग नेपाल पहिलो पटक खेल्दै थियो ।

क्विन्टन डी कक, ऐइडेन माक्रम, हेनरिक क्लासेन, डेविड मिल्लर, कागिसो राबडा, मार्को यानसेन समावेश दक्षिण अफ्रिकासँग नेपालले कस्तो खेल्छ त सबैमा कौतुहलता थियो । कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए । डी कक, क्लासेन, मिल्लरले नेपाली बलरलाई पिट्ने हुन् कि भन्ने आशंका पनि थियो । तर नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै टेस्ट राष्ट्रलाई १ सय १५ रनको सामान्य योगफलमा रोक्यो । यति रनका लागि माक्रमको टोलीले सात विकेट गुमाएको थियो ।

सबै विकेट स्पिनरको नाममा रह्यो । दीपेन्द्रसिंह ऐरीले तीन दशमलब चार ओभरमा ओपनर डी ककलाई क्याच आउट गरेपछि दक्षिण अफ्रिकाको विकेट जान सुरु भएको थियो । एघारौं ओभरमा कप्तान माक्रम कुशल भुर्तेलको बलमा बोल्ड भए । उनले मात्र १५ रन बनाउन सके । उच्च फर्ममा रहेका क्लासेनलाई कुशलले नै ३ रनमा आउट गरे । मिल्लरलाई सात रनमा ऐरीले मैदान बाहिर पठाएका थिए । कुशलले ४ ओभरमा १९ रन खर्चिएर चार विकेट लिएका थिए । चार ओभर नै बल फालेका दीपेन्द्रले २१ रन दिएर ३ विकेट हात पारे । दक्षिण अफ्रिकाकाका लागि रेजा हेन्डरिक्सले सर्वाधिक ४३ रन बनाएका थिए । पहिलो इनिङसमा नेपालले दक्षिण अफ्रिकालाई पूर्ण रूपमा दबाबमा राख्यो । नेपाली बलर सामु दक्षिण अफ्रिकी ब्याटरले खुलेर खेल्न सकेनन् । सन्दीप लामिछानेले विकेट नलिए पनि किफायती बल फाले । चार ओभरमा उनले १८ रन मात्र दिए । विश्वकपमा सन्दीपको यो डेब्यू खेल हो ।

जवाफमा नेपालले राम्रो सुरुवात गर्‍यो । कुशल र आसिफ शेखले ३५ रनको ओपनिङ साझेदारी गरे । कागिसो राबडाले आशिफको क्याच छोडेर जीवन दान दिएका थिए । आठौं ओभरमा स्पिनर ताबरेज साम्सीले कुशल र रोहित पौडेलको विकेट लिँदै आफ्नो टिमलाई खेलमा फर्काए । साम्सीलाई दक्षिण अफ्रिकाले नेपालविरुद्ध केशव महाराजको स्थानमा मौका दिएको थियो । तेस्रो विकेटका लागि आशिफ र अनिल साहले ३६ बलमा ५० रनको साझेदारी गरेपछि नेपाल सहज जीत तर्फ उन्मुख भएको थियो ।

तर आशिफ र अनिलको विकेट जानु नेपालका लागि घातक बन्दा दक्षिण अफ्रिकाले पुनरागमन गर्‍यो । १४ औं ओभरमा २७ रन बनाएका अनिललाई माक्रमले क्याच आउट गरे । दीपेन्द्र पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनले ६ रन मात्र बनाउन सके । दीपेन्द्र र ४२ रन बनाएक आशिफलाई १८ औं ओभरमा साम्सीले आउट गरेका थिए । कुशल मल्ल एक रन बनाएर मैदान बाहिरिए । एक समय ९८ रन तीन विकेटको स्थितिमा रहेको नेपालले १ सय १४ रन बनाउदा ७ विकेट गुमाएको थियो ।

नेपाललाई अन्तिम ओभरमा जीतका लागि ८ रन चाहिएको थियो । क्रिजमा थिए- सोमपाल कामी र गुल्शन झा । अन्तिम ओभर बल फाल्न आए ब्राटमन । गुल्शनले सुरुवाती दुई बलमा रन जोड्न सकेनन् । तेस्रो बलमा चौका प्रहार गरेपछि स्टेडियममा नेपाली समर्थकले खुसीयाली मनाउन थाले । पाँचौं बल डट भयो । अब नेपाललाई चाहिएको थियो- दुई बलमा दुई रन । तर गुल्शन रन आउट भएपछि नेपाल सुनौलौ इतिहास रच्नबाट चुक्यो । नेपालले १ सय १४ रन मात्र बनाउन सक्यो । टेस्ट राष्ट्रमाथि जितनजिक पुगेर पनि नेपाल रित्तो हात फर्कियो

आरनोज भेल क्रिकेट स्टेडियममा नेपालको खेल कुनै चलत्रिचको कथा हो कि जस्तो भान पनि हुन्थ्यो । अपेक्षा गरेभन्दा शानदार खेल पस्किएको नेपालले बलियो टोलीसँग सजिलै हार मानेन । अन्तिम समयसम्म लडिरह्यो तर जित भने दक्षिण अफ्रिकाको पक्षमा गयो । १९ दशमलव ४ ओभर सम्म खेल नेपालको पक्षमा थियो । तर बाँकी २ बलमा दक्षिण अफ्रिकाले नेपाललाई स्तब्ध पार्‍यो । अघिल्लो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशसँग १ सय १३ रन रक्षा गरेको थियो । सो खेल महाराजले जिताएका थिए । उनैलाई रिप्लेस गरेका साम्सीले नेपालविरुद्ध ४ विकेट लिए । यो हारले नेपाल समूह चरणबाटै बाहिरियो ।

पहिलो खेलमा नेपालले नेदरल्यान्डससँग हार बेहोरेको थियो । श्रीलङकासँगको खेल वर्षाका कारण भएन । अब नेपालले १६ जुनमा समूहको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । समूह डीबाट दक्षिण अफ्रिका ४ खेलमा ४ जित हात पार्दै सुपर एटमा पुगिसकेको छ । सुपर एटमा नपुगेसँगै नेपालले सन् २०२६ को टी-ट्वेन्टी विश्वकपमा सिधै छनौट हुने मौका पनि गुमायो ।

खेलपछि 'पोस्ट म्याच कन्फरेन्स'मा कप्तान रोहित पौडेलले आफ्नो टिमको प्रदर्शनप्रति गर्व लागेको बताए । जितनजिक पुगेर हार्दा पीडा भए पनि विश्व स्तरीय क्रिकेट खेलेको उनको भनाइ थियो । दक्षिण अफ्रिकाका कप्तान माक्रमले नेपालले आफूहरुलाई दबाबमा राखेको बताएका थिए । आशिफ शेखले आफ्नो र अनिलको विकेट जानु नै खेलको टर्निङ पोइन्ट भएको प्रतिक्रिया दिए । नेपालले ठूला टिमसँग खेल्न सक्छ भन्ने प्रमाणित भएको उनको भनाइ छ । 

यो पनि...

आईसीसी टी-ट्वेन्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

यो हार होइन सिकाइ हो : रोहित पौडेल

नेपाली क्रिकेटमा देखिएको दर्शकको क्रेज लोभलाग्दो

उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले पराजित (भिडियो रिपोर्ट)

हेर्नुहोस् सविना कार्कीका थप स्टोरी ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement