पेरिस पाराओलम्पिकको काउन्टडाउन सुरु, प्रतियोगितास्थल तयार

जेष्ठ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस पाराओलम्पिकको काउन्टडाउन सुरु, प्रतियोगितास्थल तयार

काठमाडौं । पेरिस पाराओलम्पिकको एक सय दिनको काउन्टडाउन सुरु भएको छ । पेरिस ओलम्पिकपछि हुने यो ओलम्पिक २८ अगस्तमा सुरु भएर १० दिनसम्म चल्नेछ । पारा ओलम्पिकको प्रतियोगिताका लागि पेरिसमा सबै प्रतियोगितास्थल तयार भएका छन् ।

पेरिस पाराओलम्पिक खेलको सय दिन बाँकी रहँदा प्रतियोगिता स्थलका साथै अन्य ठाउँ पाहुनालाई स्वागत गर्न तयार देखिएका छन् । पाराओलम्पिक खेलका लागि पेरिसमा १८ स्थल निर्माण गरिएका छन् । पाराओलम्पिकमा सहभागी हुने २२ मध्येका १४ खेल भने फ्रान्सका स्मारकको आसपासका क्षेत्रमा आयोजना गरिने आयोजकले जनाएका छन् ।

२१ लाख जनसंख्या रहेको फ्रान्सको राजधानी पेरिस विश्वका प्रसिद्ध वास्तुकला र इतिहासका लागि प्रख्यात छ । यसकारण पनि पाराओलम्पिकका लागि मात्र १० लाखभन्दा बढी मानिसले भ्रमण गर्ने अनुमान छ । शोन्ज इलिजेमा एथ्लेटिक्सका खेल हुनेछन् । एक दशमलव नौ किलोमिटर लामो र ७० मिटर चौडा यो क्षेत्रमा एथ्लेटिक्सका टिमले परेड गर्नेछन् । परेड प्यालेस डी ला कुकोडमा पुगेपछि परम्परागत उद्घाटन समारोह सुरु हुनेछ ।

आइफल टावरको फेदमा रहेको प्रतिष्ठित बगैंचा चाम्प डे मास्कमा क्लबफुटका खेल हुनेछन् । यस ठाउँलाई खुला हावा बहने रंगशालाका रुपमा विकास गरिँदै छ । यहाँबाट सूर्यास्त र आइफल टावरको सुन्दर दृष्य देखिनेछ । नजिकै पारा जुडो र हृविलचेयर रग्बीका खेल गरिनेछन् । हृविलचेयर फेन्सिङ र पारा तेक्वान्दोका खेल ग्रान्ड दरबारमा आयोजना हुनेछन् ।

सेन नदीमा पारा ट्रायथलनका प्रतियोगिता गरिने आयोजकले जनाएका छन् । सन् १६८७ मा बनेको सैनिक अस्पताल र युद्ध सैनिकको निवृत्तिभरण घर ‘एस्प्लानाड डेस इन्भालिड’मा आर्चरी खेल हुनेछन् । फ्रेन्च सैनिकहरुको श्रद्धाको स्थलसमेत रहेको यो भवनअघि नेपोलियन बोनापार्टको चिहानसमेत छ ।

पेरिसबाहिर रहेको भर्सेलिसको बगैंचा आसपासमा पारा घोडचढीका खेल हुनेछन् । पारा एथलेटिक्सका खेल फ्रान्सको राष्ट्रिय रंगशालामा हुनेछ । बैजनी रंगको नयाँ ट्रयाकमा एथलेटिक्स हुन लागेको हो । पाराओलम्पिकमा विश्वभरका चार हजार चार सय खेलाडीले पाँच सय खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । विश्वभरका ३५ लाख मानिसले प्रतियोगिता हेर्ने विश्वास गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.