टेबल टेनिसका स्यान्टू श्रेष्ठले रचे इतिहास

पेरिस ओलम्पिकका लागि छनोट
दक्षिण एसियाली छनोटको फाइनलमा नेपालकै सन्योग कपालीमाथि जित
जेष्ठ २, २०८१ |खेल ब्युरो
टेबल टेनिसका स्यान्टू श्रेष्ठले रचे इतिहास

काठमाडौं । टेबल टेनिस खेलाडी स्यान्टू श्रेष्ठले नेपाली खेलकुदमा इतिहास रचेका छन् । घरेलु भूमिमा भएको दक्षिण एसियाली छनोटमा आफ्नै देशका सन्योग कपालीलाई पराजित गरेर स्यान्टूले पेरिस ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी हुन् ।

पछिल्लो समय अस्ट्रेलियामा बस्दै आएका २३ वर्षीय स्यान्टू छनोट प्रतियोगिता खेल्न एक साता अघिमात्र काठमाडौं आएका थिए । नेपाली खेलकुद इतिहासमा सँगीना वैद्य र दीपक विष्टले मात्र आफैँ छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन्। सँगीनाले सन् २००४ र दीपकले २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए। पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पनि छनोट चरण पार गरेर पेरिस ओलम्पिकमा स्थान बनाएकी छिन् । 

स्यान्टूले पहिलो सेटमा संन्योग कपालीलाई ११-७ ले पराजित गरे । दोस्रो सेट उनले ८-११ ले गुमाएका थिए । तेस्रो सेट ११-७ को जीतका साथ खेलमा फर्किए । चौथो सेट ११-६ ले जितेका स्यान्टूविरुद्ध पांचौ सेटमा संन्योगले पुनरागमन गरे । उनले ११-८ को जीत हात पारेपछि खेल रोमाञ्चक बनेको थियो । अर्को सेटमा पनि ११-८ ले सन्योगकै नाममा रह्यो । तर सातौँ तथा अन्तिम सेट स्यान्टूले ११-९ ले आफ्नो पक्षमा पारेर इतिहास कायम गरेका हुन् । 

दक्षिण एसियाली छनोटमा चार देशका ८ पुरुष खेलाडी सहभागी थिए। नेपालका स्यान्टूले समूह एकमा मालदिभ्सका अहमद अख्तर, रामहिमलिन र जयशंका डि सिल्भालाई हराएका थिए। सेमिफाइनलमा श्रीलङकाका चमिरा जिनिगलाई हराएका थिए । फाइनलमा स्यान्टूले नेपालकै नम्बर वान सन्योग कपालीको चुनौती पन्छाए ।

कक्षा ५ पढ्दादेखि नै टेवलटेनिस खेल्न सुरु गरेका स्यान्टू नेपालका चार पटकका नम्बर एक खेलाडीसमेत हुन् । 

स्यान्टूको जीतसँगै नेपालको टेबलटेनिसले पनि ओलम्पिकमा डेब्यु गर्नेछ । अहिलेसम्म पेरिस ओलम्पिकमा नेपालबाट स्यान्टूसँगै ब्याटमिन्टनका प्रिन्स दाहालले पनि सहभागिता जनाउने निश्चित भएको छ ।