नयाँ उचाइको खोजीमा नेपाली खेलकुद

वैशाख २, २०८१ |खेल ब्युरो
नयाँ उचाइको खोजीमा नेपाली खेलकुद

काठमाडौं । वर्ष २०८० भरि नै नेपाली खेलकुदले खेलाडी तथा खेलप्रेमीमा आशा र ऊर्जा भरिरह्यो । अब नयाँ वर्षमा पनि एसीसी मेन्स प्रिमियर कपको सुरुवातसँगै नेपाली खेलकुद थप चलायमान हुँदैछ । यो प्रतियोगिता, नेपाली क्रिकेट टिमले फेरि भारत र पाकिस्तानजस्ता क्रिकेटका शक्ति राष्ट्रसँग खेल्न पाउने अवसर बन्न सक्नेछ । सँगै, टी-ट्वेन्टी विश्वकप, ओलम्पिक, राष्ट्रिय खेलकुद, साफ क्लब च्याम्पियनसिप र ए डिभिजन लिग नेपाली खेलकुदको कोशेढुंगा सावित हुन सक्नेछन् । यो वर्ष नेपाली खेल समर्थकले व्यग्र प्रतीक्षा गरेको वर्षसमेत हो ।

नयाँ वर्ष, नयाँ संकल्प र अठोट गर्ने अवसर पनि हो । यसै वर्ष ओलम्पिक हुँदैछ । तर, नेपाली खेलाडीको ओलम्पिक सहभागिता अझैसम्म टुंगो नलागे पनि यो विश्व खेलकुदकै मुख्य प्रतियोगिता हो । ओलम्पिकलगत्तै हुने पाराओलम्पिकमा छनोट भएर पलेशा गोवर्रद्धनले आशा जगाइसकेकी छन् ।

नयाँ वर्षमा क्रिकेटका थुप्रै प्रतियोगिता हुनेछन् । विशेषतः नेपालले फेरि टी-ट्वेन्टी विश्वकप खेल्दैछ । नेपाली टोलीले खेलेको यो नै सबैभन्दा ठूलो प्रतियोगिता हो । पूर्ण बन्दै गरेको नेपाली क्रिकेट टिम, बलियो बन्दै गएको बेञ्च स्ट्रेन्थ र निरन्तर प्रतियोगिताले निखारिएका खेलाडीको विश्वकप खेल सबैको पखाईमा छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिलेसम्म निर्देशन दिने काम गरिरहेका छन् । तर, मन्त्रालयले देखिने गरि काम गर्न बाँकी छ । युवामन्त्री पाएपछि खेल समर्थकको हौसला पनि बढेको छ । नयाँ वर्षमा जिम्मेवार भएर काम गर्ने उनको प्रतिबद्धता छ ।

खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद्-राखेपसाग खेल संघको वर्गीकरण, अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने वातावरण निर्माणलगायत धेरै जिम्मेवारी पूरा गर्ने अवसर बन्दैछ । बाह्रैमास अनुकूल वातारण रहने नेपालमा हरेक प्रतियोगिता आयोजनाका लागि सक्षम छु भनेर प्रमाणित गर्ने अवसर हुनेछ । राखेपले के गर्छ त ?

आगामी मंसिरमा प्रस्ताव गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिता, समग्र खेलकुदकै टर्निङ प्वाइन्ट हुन सक्नेछ । यो प्रतियोगितालाई लिएर कर्णाली प्रदेशका खेलप्रेमी उत्साही छन् भने प्रदेशले पनि तीब्र गतिमा काम गरिरहेको छ । प्रतियोगिताको सफल आयोजनाबाट नेपाली खेलकुद नै चलायमान हुनेछ ।

किङ अफ स्पोट्स अर्थात् फुटबलको २०८० मा ए डिभिजन लिग नै भएन । आउँदो वर्षको अन्तिममा ए डिभिजन लिग गर्ने भनिएको छ । फिफा विश्वकप छनोटबाहेक अन्तर्राष्ट्रिय प्रतियोगिता पनि भएको छैन । तर जिल्ला लिग, एकेडेमीको पुनर्जागरण, बी डिभिजन लिग र पहिलो पटक आयोजना गर्ने भनिएको साफ क्लब च्याम्पियनसिपले नयाा वर्षमा फुटबल पनि गतिशील हुने अपेक्षा गर्न सकिन्छ ।

खेलाडीलाई त हरेक वर्ष नयाँ प्रतियोगिताको अपेक्षा हुन्छ नै । त्यसमाथि पनि मार्सल आर्ट्सका खेलाडी अझै व्यावसायिकताको पर्खाइमा छन् । एक वर्षमा यो त सम्भव नहोला । तर धेरैभन्दा धेरै प्रतियोगिताले वर्षभरि नै व्यस्त बनाइदियोस् भन्ने खेलाडी चाहन्छन् । आउँदो वर्ष नेपाली खेलकुद निकै व्यस्त बनोस् । खेलाडी पलायन रोकियोस् र वाषिर्क क्यालेन्डर बनाएरै सबै संघहरुले प्रतियोगिता व्यवस्थित गर्न सकुन्, नयाँ वर्षमा सबैको यही अपेक्षा र कामना छ ।