सी डिभिजन लिगको तयारी पूरा, साढे तीन करोडभन्दा धेरै खर्च हुने अनुमान

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
सी डिभिजन लिगको तयारी पूरा, साढे तीन करोडभन्दा धेरै खर्च हुने अनुमान

काठमाडौं । यो वर्षको सहिद स्मारक सी डिभिजन लिग तीन महिना लामो हुने भएको छ। बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेर पहिलो पटक तीन महिनासम्म सञ्चालन हुन लागेको लिगको तयारी पूरा भएको जानकारी दिएको हो।

सहिद स्मारक सी डिभिजन लिग फुटबलको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको हो। प्रतियोगिता चैत २३ गतेबाट सुरु हुने भएको छ ।

विजेतालाई १० लाख पुरस्कार राशि रहेको लिग तीन महिनासम्म चल्ने दाबी गरिएको छ। सिङ्‍गल राउन्ड रोबिनमा ९१ खेल सञ्चालन हुनेछन्। अघिल्ला सिजनहरूमा लिग एक महिना मात्र चल्ने गर्थ्यो। सहिद स्मारक लिग पिरामिडमा पहिलो पटक काठमाडौं उपत्यका बाहिरका पाँच क्लब सहभागी बन्नेछन्। मोफसलका क्लबहरूमा आरसी ३२, सानेपा क्लब, गोलबजार क्लब, स्पोट्स एकेडेमी साँगा, सामाजिक कल्याण खेल केन्द्र, बागमती युवा क्लब रहेका छन्।

सहभागी हुने १४ क्लबहरूमा बाँकी काठमाडौं र ललितपुरका रहेका छन्। लिगमा कुल साढे तीन करोडभन्दा धेरै खर्च हुने एन्फाले जानकारी दिएको छ। लिग हेर्नका लागि सामान्यतर्फ एक सय र भीआईपीतर्फ दुई सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। एन्फाले दुई वर्षपछि सी डिभिजन लिग आयोजना गर्न लागेको हो। लिग सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

आवश्यक परे च्यासल र दरशथ रंगशाला पनि प्रयोग गर्ने एन्फाले जनाएको छ। लामो समयदेखि लिग आयोजना नगरेपछि एन्फा लामो समयदेखि आलोचित भइरहेको छ। राष्ट्रिय टोली निर्माणको मेरुदण्डको रूपमा रहेको ए डिभिजन लिग भने एक वर्षदेखि आयोजना हुन सकेको छैन।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.