एसएमएस फ्रेन्डसिप कपमा नेपालले गुजरातलाई ८ रनले हरायो

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
एसएमएस फ्रेन्डसिप कपमा नेपालले गुजरातलाई ८ रनले हरायो

काठमाडौं । एसएमएस फ्रेन्डसिप कपमा नेपालले गुजरातलाई ८ रनले हराएको छ । यससँगै नेपाल एसएमएस फ्रेन्डसिप कप टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । वापीस्थित साई मेघपन मैदानमा आज आयोजक गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको अवसर पाएको थियो । शानदार सुरुआत गरेका ओपनर कुशल भुर्तेल र आशिफ शेखले १ सय २५ रनको साझेदारी गरे । ४४ बलमा ६७ रन बनाएर कुशल भुर्तेल १३ ओभर तीन बलमा आउट भए । उनी आउट हुँदा नेपाल सहज अवस्थामा पुगिसकेको थियो । कप्तान राहित पौडेल ३ रनमै बाहिरिए ।

आशिफले भने ८५ रनको इनिङ खेले । आशिफ आउट हुँदा नेपालले १ सय ६६ रनमा तेस्रो विकेट गुमायो। तर त्यसपछि सन्दीप जोरा २, कुशल मल्ल एक रनमा आउट भए । गुजरातका जयमितले १८ औं ओभरमा दुई विकेट लिए । गुल्सन झा चार र अनिल शाह शून्यमा आउट भए । यी दुवै खेलाडीलाई ध्रुसान्तले अन्तिम ओभरमा आउट गराएका हुन् ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले सात विकेट क्षतिमा १ सय ७३ रन मात्र बनाउन सक्यो । ‌ओपनर रुद्र पी ८ रन र स्मिथ पटेल १९ रन बनाएर आउट भए । २० रन बनाएका अभिषेक देशाई आउट हुँदा गुजरातले चार विकेट क्षतिमा ८१ रन बनाएको थियो । अर्धशतकतर्फ उन्मुख भइरहेका उमङ टन्डेल ४७ रन बनाएर आउट भएका थिए । उनलाई कुशलले मैदान बाहिर पठाएका हुन् । अन्तिममा हर्ष देशाइले अविजित २९ रन जोडे पनि गुजरातले जित दर्ता गर्न सकेन ।

नेपालका लागि सोमपाल कामी र कुशल मल्लले दुई-दुई तथा विवेक यादव र गुल्सनले एक-एक विकेट लिए । नेपालले प्रतियोगिताका तीनमध्ये तीनै खेलमा जित दर्ता गरेको हो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो भने दोस्रोमा बरोडाविरुद्ध २७ रनको जित दर्ता गरेको थियो ।

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले शुक्रबार फेरि बरोडासँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.