पहिलो एक दिवसीय खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग पराजित

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
पहिलो एक दिवसीय खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग पराजित

काठमाडौं ।आयरल्यान्ड उल्भ्स र नेपाल ‘ए’बीचको पहिलो एक दिवसीय खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग २१ रनले पराजित भएको छ । १५८ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभर तीन बलमा एक सय ३६ रन बनाएर सबै विकेट गुमायो।

नेपालका लागि ओपनर देव खनालले २६ रन जोडे पनि बाँकी खेलाडी सस्तैमा समेटिए । अर्जुन कुमाल ९, भीम सार्की शून्य, आरिफ शेख शून्य र अर्जुन साउँद ४ रनमा आउट हुँदा नेपालले ४५ रनमा पाँच किकेट गुमाएको थियो। आज सातौं नम्बरमा मैदान प्रवेश गरेका कप्तान विनोद भण्डारीले पनि ९ रनमै आउट भए।

यस्तै बसिर अहमदले २० रन जोडे। शाहब आलमले नेपाललाई लक्ष्य नजिक पुर्‍याए पनि ३७ रन बनाएर आउट भए। मौसम शून्यमा आउट भएपछि नेपाल पराजित भएको हो। आयरल्यान्डका लागि माथ्थिउ हम्फ्रेयजले पाँच र लियम मकार्थीले चार खेलाडीलाई पवेलियनको फर्काएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ ‌ओभर तीन बलमा सबै विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो। आयरल्यान्डका दुवै ओपनर सस्तैमा समेटिँदा उसले ३५ रनमा नै दुई विकेट गुमायो। १२ रनमा जेम्स म्याकोलमलाई रिजन ढकालले क्याच आउट गराए। स्टिफन डोहेनीलाई शाहब आलमले १२ रनमै एलबीडब्लू धरापमा पारे । २१ रनको योगदान गरेका पिटर मुर मौसम ढकालबाट क्लिन बोल्ड भए।

मध्यक्रममा केड कार्मिकेल र कप्तान निल रकले ६५ रनको साझेदारी गरेर इनिङ उकासेका थिए। २८ ओभर तीन बलमा ३९ रन बनाउका निल आउट हुँदा आयरल्यान्डले चौथो विकेट गुमायो। ग्यारेथ डिलेनी ६ रन र फिनन ह्यान्ड शून्यमा आउट भए। केड कार्मिचेल ७७ बलमा ५१ रन बनाएर आउट भए । 

यससँगै आयरल्यान्डले सात विकेट गुमाएको थियो । कमल सिंह ऐरीले ह्याट्रिक विकेट लिएपछी आयरल्यान्ड १ सय ५७ रनमै समेटिएको हो। कमलले समग्रमा चार विकेट लिए। मौसम ढकाल र शाहब आलमले दुई-दुई विकेट लिँदा रिजन ढकालको नाममा एक विकेट रह्यो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.