'राइट टु प्रोटिन हाफ म्याराथन'को उपाधि सन्तोषी र दीपकलाई

चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
'राइट टु प्रोटिन हाफ म्याराथन'को उपाधि सन्तोषी र दीपकलाई

काठमाडौं । वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लवका दीपक अधिकारीले शनिवार 'राइट टु प्रोटिन हाफ म्याराथन'को उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा पुरुषतर्फ दीपक र महिलामा सन्तोषी विजयी भएका हुन् । दीपक लगातार दोस्रो वर्ष च्याम्पियन भए । सन्तोषी भने पहिलो संस्करणकी च्याम्पियन हुन् । दशरथ रंगशालाबाट शुरु भएको हाफ म्याराथन भक्तपुरको राधेराधे पुगेर सोही रुटबाट फर्किएको हो । दीपकले निर्धारित दुरी पूरा गर्न १ घण्टा ७ मिनेट ३३ सेकेण्ड समय लगाए । एपीएफका गोपीचन्द्र पार्की ९ सेकेण्डले मात्र पछि रहँदा दोस्रो स्थानमा खुम्चिए । पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेण्ड समय लगाएका थिए ।

पर्वतका तीर्थ पुन तेस्रो स्थानमा रहे । उनले १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरे । आर्मीका नरेन्द्र रावल चौथो भए । नरेन्द्रले १ घण्टा ८ मिनेट ५१ सकेण्ड समय लगाए । 

महिलातर्फ विजयी बनेकी सन्तोषीले निर्धारित दुरी १ घण्टा २० मिनेट १९ सेकेण्डमा पूरा गरिन् । नेपाल पुलिसकी राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । राममायाले १ घण्टा २१ मिनेट ५६ सेकेन्ड र पुष्पाले १ घण्टा २३ मिनेट ०२ सेकेण्ड समय लगाइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने चौथो र एपिएफकी फूलमति राना तेस्रो भए ।

महिला र पुरुष दुवैमा हाफ म्याराथन विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौं स्थान प्राप्त गर्नेले ३० हजार रुपैयाँ पाए । 

१० किलोमिटर पुरुषतर्फ खुलामा आर्मीले वर्चस्व जमायो । आर्मीका खेलाडीले पहिलोदेखि पाँचौं स्थानसम्म प्राप्त गरे । आर्मीका मुकेश पाल, सञ्जय श्रेष्ठ, गजेन्द्र राई, सुवास कार्की र श्रीकाश राईले शीर्ष पाँच स्थान प्राप्त गरे ।

५ किलोमिटर खुला महिलामा आर्मीकी सृजना पाण्डेय, राजपुरा पछाई, निर्मला केसी, आशा रावत र सुमित्राकुमारी चौधरी पहिलोदेखि पाँचौं स्थानमा रहे । 

स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर, बादल कार्की र विकेश घिमिरेले शीर्ष तीन स्थान प्राप्त गरे । स्कुलतर्फ नै ३ किलोमिटर महिलामा कल्पना बुढा पहिलो, अस्मिता भुजेल दोस्रो र अमिशा राई तेस्रो भए । ह्विलचियर ३ किलोमिटर पुरुषमा रामकाजी मिजार, रमेश खत्री र प्रेम विक क्रमशः पहिलोदेखि तेस्रो भए । यसै विधाको महिलामा ऐश्वर्यकुमारी कुमाल, यामी झाक्री मगर, रजनी राई, पेमा गुरुङ र वविता थापा पहिलोदेखि पाँचौं स्थानमा रहे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement