एकेडेमीदेखि विश्वमञ्चसम्म : मोरक्कोको लोभलाग्दो फुटबल क्रान्ति

असार २६, २०८३ |अभय बस्नेत
एकेडेमीदेखि विश्वमञ्चसम्म : मोरक्कोको लोभलाग्दो फुटबल क्रान्ति

काठमाडौं । २०३० को फिफा विश्वकप संयुक्त रुपमा ६ राष्ट्रमा आयोजना हुँदैछ । 

त्यस मध्येको एक राष्ट्र हो, मोरोक्को । पछिल्लो समय मोरोक्कोको विश्व फुटबलमा उदय लोभलाग्दो छ । २०२२ विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्नुदेखि गत वर्ष चिलीमा भएको फिफा यू-२० विश्वकप जित्नुसम्म, मोरोक्कन फुटबलले छोटो समयमै लोभलाग्दो सफलता हात पारेको छ । 

१० वर्षअघिसम्म मात्र फिफा वरियतामा ९० औं स्थानमा रहेको मोरोक्को कसरी अहिले विश्व वरियतामा सातौं स्थानमा छ र स्पेन र पोर्चुगलजस्ता टोलीलाई विश्वमञ्चमा पछि पार्दै छ त ?

मोरक्कोको फुटबल यात्रा धेरै पुरानो छ। यो टोली १९७० मा अफ्रिकाबाट छनोट चरण पार गरी विश्वकप खेल्ने पहिलो राष्ट्र बनेको थियो। सन् १९८६ मा मोरक्को विश्वकपको नकआउट चरण पुग्ने पहिलो अफ्रिकी र अरब राष्ट्र बन्यो। त्यो पुस्तामा लार्बी बेन बारेकजस्ता खेलाडीहरू थिए, जसलाई पेले स्वयंले 'फुटबलका भगवान' सम्म भनेका थिए। तर, सन् १९९८ देखि २०१८ सम्मको २० वर्ष मोरक्कोले विश्वकपमा आफ्नो स्थान बनाउन सकेन, जुन समयलाई त्यहाँको फुटबलको 'डार्क एज' मानिन्छ।

यो समयमा मोरक्कोले आफ्नो बाटो मोड्ने निर्णय गर्‍यो। सन् २००८ को राष्ट्रिय खेलकुद सम्मेलन मोरक्कन फुटबलको लागि टर्निङ पोइन्ट सावित भयो, जहाँ राजा मोहम्मद सिक्सथको भिजनअनुसार फुटबल पूर्वाधार र शासन सुधारको मार्गचित्र कोरियो। रोयल मोरक्कन फुटबल फेडरेसनका अध्यक्ष फौजी लेक्जाले यसलाई एउटा संस्थागत 'रिसेट' को रूपमा अघि बढाए।

यस योजनाको केन्द्रमा थियो-‘मोहम्मद सिक्सथ फुटबल एकेडेमी’। सन् २००९ मा करिब १ करोड ४० लाख डलरको लगानीमा खोलिएको यो एकेडेमी अफ्रिकाकै उत्कृष्ट पूर्वाधार मानिन्छ। यहाँ १२ देखि १८ वर्षका युवाहरूलाई नि:शुल्क शिक्षा र अत्याधुनिक फुटबल तालिम दिइन्छ। 

अचम्मको कुरा त के छ भने, यहाँ छनोट हुने प्राय विद्यार्थीहरू न्यून आय भएका परिवारबाट आउँछन्। आजका मोरोक्कन फुटबलका स्टारहरू नेयफ अगुएर्ड, अज्जेदीन उनाही र युसेफ एन-नेसेरी यही एकेडेमीका उत्पादन हुन्। एकेडेमी मात्र होइन, मामोरामा रहेको ३० हेक्टरमा फैलिएको मोहम्मद सिक्सथ फुटबल कम्प्लेक्स मोरक्कोको राष्ट्रिय टोलीहरूको मुख्य केन्द्र हो। 

यहाँ फिफा मापदण्डका पिचहरू, क्रायोथेरापी र अत्याधुनिक मेडिकल सुविधाहरू छन्, जसले युरोपका ठूला क्लबहरूलाई पनि चुनौती दिन्छ। मोरक्कोको अर्को बलियो पक्ष यसको डायस्पोरा रणनीति हो। मोरक्कोले युरोपमा जन्मिएका तर मोरक्कन मूलका खेलाडीहरूलाई पहिचान गर्न ठूलो सञ्जाल बनाएको छ। 

अचराफ हाकिमी, सोफियान अम्रबात र हाकिम जिएचजस्ता खेलाडीहरूले स्पेन, नेदरल्यान्ड्स जस्ता देशलाई छाडेर मोरक्को रोज्नु पछाडि फेडरेसनले खेलाडी र उनीहरूका परिवारसँग बनाएको गहिरो सम्बन्धको कारण हो । २०२६ को विश्वकप टोलीका २६ मध्ये १९ खेलाडीहरू मोरक्को बाहिर जन्मिएका थिए।

राष्ट्रिय टोली बलियो हुनुमा मोरक्कोको घरेलु लिग 'बोटोला प्रो' को पनि ठूलो हात छ। कासाब्लान्का, विडाड र आरएस बर्काने जस्ता क्लबहरूले अफ्रिकी च्याम्पियन्स लिगमा प्राप्त गरेको सफलताले घरेलु खेलाडीहरूमा उच्च प्रतिस्पर्धा देखिन्छ ।

मोरक्कोले २०२२ पछि पनि आफ्नो लय कायमै राखेको छ। सन् २०२४ को पेरिस ओलम्पिकमा इजिप्टलाई ६-० ले हराउँदै मोरक्कोले कास्य पदक जित्यो। सन् २०२५ मा मोरक्कोको यू-२० टोली अर्जेन्टिनालाई हराउँदै विश्व विजेता बन्यो, जुन कुनै पनि अरब राष्ट्रको लागि पहिलो उपलब्धि थियो। 

महिला फुटबलमा पनि मोरक्कोले ठूलो फड्को मारेको छ, जहाँ 'एटलस लायनेस' सन् २०२३ को विश्वकपको नकआउट चरणसम्म पुग्न सफल भयो। हालै सम्पन्न २०२६ को विश्वकपमा पनि मोरक्कोले नकआउट चरणमा नेदरल्यान्ड्स र आयोजक क्यानाडालाई हराउँदै आफ्नो प्रभुत्व प्रमाणित गर्‍यो। 

मोरक्को लगातार दुईवटा विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। हाल मोरक्को फिफा वरियतामा विश्वका शीर्ष १० भित्र सुरक्षित छ, जसले यसलाई सेनेगल, नाइजेरिया र इजिप्ट भन्दा अगाडि अफ्रिकाको नयाँ फुटबल नेताको रूपमा उभ्याएको छ।

अब मोरक्कोको नजर सन् २०३० मा छ, जहाँ उसले स्पेन र पोर्चुगलसँग मिलेर विश्वकप आयोजना गर्दैछ। यसको लागि कासाब्लान्का नजिकै १ लाख १५ हजार क्षमताको 'ग्रान्ड स्टेड हसन सेकेन्ड' निर्माण हुँदैछ, जुन विश्वकै दोस्रो ठूलो स्टेडियम हुनेछ। 

मोरक्कोले पूर्वाधारमा मात्रै करिब १९ अर्ब डलर लगानी गर्दैछ। मोरक्को अब केवल अफ्रिकाको अन्डरडग मात्र रहेन, यो विश्व फुटबलको एउटा नयाँ महाशक्ति को रूपमा स्थापित भएको छ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।