झापाको डोमालाल राजवंशी रंगशाला : मैदान सानदार, दर्शक खचाखच, प्याराफिट भने बाँसको

फाल्गुन २९, २०८० |गणेशमान मुखिया
झापाको डोमालाल राजवंशी रंगशाला : मैदान सानदार, दर्शक खचाखच, प्याराफिट भने बाँसको

झापा । झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार छैटौँ झापा गोल्डकप समापन भयो । फाइनलमा विभागीय टोली एपीएफलाई तीन-शून्यले हराउँदै चर्च बोइज च्याम्पियन बन्यो ।

प्रतियोगिताभर रंगशालामा दर्शकको उपस्थिति बाक्लो थियो । बाँसको अस्थायी प्याराफिटमा बसेर दर्शकले फुटबल हेरे । आयोजकले दर्शक व्यवस्थापन राम्रो भएको दाबी गरिरहँदा दर्शकले भने बस्ने ठाउँ समेत नभएको भन्दै पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । 

झापाकै पुरानोमध्येको एक रंगशाला हो डोमालाल राजवंशी रंगशाला । यो रंगशालामा आकर्षक मैदान छ । प्रतियोगिता भएका बेला दर्शकको उपस्थित पनि खचाखच हुने गर्छ । तर, कमजोर प्यारापिटमा खाँदिएर बस्नुपर्दा दर्शक भने दिक्दार छन् । 

झापा गोल्डकपका हरेक संस्करणमा दर्शकको उपस्थिति उल्लेख्य रहन्छ । टिकट किनेर दर्शक खेल हेर्न पुग्छन् । तर, बाँसको प्यारापिटसमेत भरिएपछि दर्शक भुईँमै बस्नुपर्छ । फाइनलमा त झन् दर्शकले रंगशाला भरिएर टिकट बिक्री नै बन्द गर्नुपर्ने हुन्छ ।

सेमिफाइनलदेखि टिकटको मूल्य ३ सय रुपैयाँ तोकिएको थियो । खेलका अगाडि टिकटको मूल्य गौण मान्छन् दर्शक । ३० किलोमिटर टाढा बाहुनडाँगीबाट खेल हेर्न आएकी सञ्जु साम्पाङ् मन परेका टिमलाई हुटिङ गर्दा लडिएला कि भन्ने चिन्ता लागेको बताउँछिन् ।

झापाकै अर्जुनधाराबाट खेल हेर्न आएका हरिनाथ शर्मा बर्सेनि बाँसका अस्थायी प्याराफिट बनाउनु भन्दा स्थायी प्याराफिट बनाए आफूजस्ता दर्शकका लागि सहज र सुरक्षित हुने बताउँछन् ।

१० हजार दर्शक क्षमताको प्यारापिट निर्माणमा बर्सेनि झन्डै १२ लाख रुपैयाँ खर्च हुने गर्छ । बर्सेनि बाँसको प्यारापिट बनाउन र प्रतियोगिता सकिएपछि भत्काउनुपर्दा झन्झटिलो त छ नै दीर्घकालीन रूपमा सोच्ने हो भने खर्चिलो पनि छ । उत्कृष्ट मैदानसँगै स्थायी पूर्वाधार बनाउने हो भने दर्शकलाई सुविधा त हुन्छ नै आम्दानी समेत बढ्ने पक्का छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।