काठमाडौं । होटल संघ नेपालले सन् २०२४ सम्ममा पर्यटकीय तारे होटेलहरूमा प्लाटिकको प्रयोग हटाएर पर्यावरणमैत्री घोषणा गर्ने तयारी गरेको थियो । तर सन् २०२४ सकिन केही दिन मात्र बाँकी हुँदा समेत होटलहरूले एक पटक मात्रै प्रयोग गरिने प्लास्टिक पनि हटाउन सकेका छैनन् । बेडरूम र सेमिनार हलमा प्लास्टिकका बोतलको प्रयोग कम गरे पनि पूर्ण रूपमा हटाउन सकेका छैनन् ।
संघले सन् २०२२ मा एक पटक मात्रै प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिकका झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोटलसँगै प्याकेजिङ जस्ता वस्तु हटाउने घोषणा गरेको थियो । तर दुई वर्षमा यस्ता वस्तुको प्रयोगमा केही कमी आए पनि पूर्णरूपमा विस्थापन हुन भने सकेको छैन ।
प्लास्टिक मात्रै होइन, पर्यावरणमैत्री किचन र गाडीको समेत प्रयोग गर्ने तयारी भए पनि सरकारले सहजीकरण नगरेको होटेल संघको गुनासो छ ।
पर्यटन विभागले समेत चार र पाँच तारे होटेललाई एक पटक मात्रै प्रयोग हुने प्लास्टिकको प्रयोग नगर्न भन्दै पत्राचार समेत गरेको छ । तर अहिलेसम्म कुनै पनि होटेलले प्लास्टिकमुक्त घोषणा गर्न सकेका छैनन् ।
६८ प्रतिशत पाहुनाले पर्यावरणमैत्री होटल रुचाउने गरेको विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले पर्यटकको प्रचुर सम्भावना भएको नेपालले पर्यावरणमैत्री घोषणा गर्न सके पर्यटक पनि बढ्ने देखिन्छ ।