शपथ ग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष साहमाथिको अनुसन्धान कति अघि बढ्यो ?

पुस १२, २०८१ |आरएन विश्वास
शपथ ग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष साहमाथिको अनुसन्धान कति अघि बढ्यो ?

सप्तरी । गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनबाट विजयी सप्तरीका एक जना वडाध्यक्ष पछिल्लो तीन सातादेखि थुनामा छन् । प्रहरीले डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई मंसिर २० गते निर्वाचन आयोगले आयोजना गरेको शपथ ग्रहण समारोहबाटै पक्राउ गरेको थियो ।

जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका वडाध्यक्ष साहमाथिको अनुसन्धान कति अघि बढ्यो त ?

२०७८ सालमा कविलासा निवासी चन्द्रदेवी साहकी १९ वर्षीया छोरी सन्तोषीको जबरजस्ती करणीपछि हत्या भयो । त्यसको एक वर्षपछि साहकी १३ वर्षीय छोरा आशिषको पनि अपहरणपछि हत्या भयो । यही घटनाको अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट वडाध्यक्ष साह विरूद्ध पक्राउ पुर्जी जारी भएको हो । दुवै घटनाका आरोपी ६ जना छन् । पक्राउ परेका घटनाका मुख्य तीन जना आरोपीहरू प्रमाण फेला नपरेको भन्दै यसअघि नै सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा रिहा भइसकेका छन् । अहिले पक्राउ परेका वडाध्यक्ष साह र अर्का आरोपी राजकुमार साह सहित सबैमाथि अनुसन्धान पूरा गरी सरकारी वकिलमा मिसिल बुझाउने सप्तरी प्रहरीको तयारी छ ।

सप्तरी जिल्ला अदालतले पक्राउ परेका नवनिर्वाचित वडाध्यक्ष साहमाथि अनुसन्धानका लागि दुई पटक म्याद थप गराइसकेको छ । अनुसन्धानका लागि प्रहरीले २५ दिनसम्म थुनामा राख्न सक्ने जनाएको छ ।

यो घटनामा कानुन कार्यान्वयन गराउने र पीडितलाई न्याय दिलाउने निकाय नेपाल प्रहरीको पनि गम्भीर त्रुटी देखिएको छ । यस्तो जघन्य अपराधको दुवै घटनाको उजुरी सोझै प्रहरीमा दर्ता हुन सकेन । अदालतबाट परामदेश भएर आएको यो घटना ०७९ को स्थानीय चुनावअघिकै हो ।

गत कात्तिकमा तत्कालीन वडाध्यक्ष प्रितमलाल चौधरीको निधन भएपछि मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट साह वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित वडाध्यक्ष साह सोही पदमा अघिल्लो निर्वाचनमा एमालेबाट निकटतम प्रतिस्पर्धी थिए । तर पीडितले न्यायका लागि सबैतिर गुहार्दा पनि कतै सुनुवाइ भएन । 


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement