काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले खराब लयलाई निरन्तरता दिएको छ । गए राति घरेलु मैदानमा एभर्टनसँग भएको खेलमा अग्रता जोगाउन नसक्दा सिटी अंक बाँड्न बाध्य भयो ।
खेलको १४औं मिनेटमा नै बर्नान्डो सिल्वाले गोल गरेपछि सिटीले १–० को अग्रता बनाएको थियो । उनले जेरेमी डोकूको पासमा गोल गरेका थिए । तर उसले पहिलो हाफमा बनाएको त्यो अग्रता जोगाउन सकेन । खेलको ३६औं मिनेटमा एभर्टनको लागि इलिमन एनडियले गोल गरेका थिए ।
सिटीले दोस्रो हाफमा पेनाल्टी प्रहारको अवसर पनि पाएको थियो । तर, फरवार्ड अर्लिङ हालान्डको प्रहार गोलकिपर जोर्डन पिकफर्डले बचाएपछि सिटीले पुनः अग्रता बनाउने अवसर गुमाएको थियो । यो नतिजासँगै साविक विजेता सिटी अहिले प्रिमियर लिगको अंक तालिकामा छैटौं स्थानमा पुगेको छ । ऊ तेस्रो स्थानको नटिङ्घम फरेस्टभन्दा तीन अंकले पछि छ भने शीर्षस्थानको लिभरपूलभन्दा ११ अंकले पछि छ ।
सिटीले खेलमा बलियो सुरूआत गरेको थियो । उसको लागि जोस्को गभार्डिओलले हेडर मार्फत् गोलको खाता खोल्न लागेका थिए । तर, उनको त्यो प्रयास असफल भयो । पहिलो हाफमा नै फिल फोडेले बक्सभित्रबाट सिल्वालाई पास मिलाइदिएका थिए । तर सिल्वाको प्रहार पोस्टभन्दा निकै बाहिर गयो ।
यस्तै, गए राति नै प्रिमियर लिगमा भएको अर्को खेलमा टेटेनहम पनि पराजित भएको छ । नटिङ्घम फरेस्टको मैदानमा टोटेनहम १-० गोलले पराजित भएको हो । सिटी ग्राउन्डमा भएको खेलमा एन्थोनी एलान्गाले खेलको २८औं मिनेटमा गोल गरेका थिए । उनको गोलसँगै नटिङ्घमले खेलमा अग्रता बनायो । त्यही अग्रतालाई बचाउँदै ऊ विजयी भएको हो । यता ७१ प्रतिशत समय बलमा नियन्त्रण बनाएको भए पनि टोटेनहम पराजित भयो । जित सहित तेस्रो स्थानमा उक्लिएको नटिङ्घमको ३४ अंक छ । पराजित टोटेनहमको २३ अंक मात्र छ ।