नेपालले नामिबियालाई दियो १६९ रनको सामान्य चुनौती

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालले नामिबियालाई दियो १६९ रनको सामान्य चुनौती

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणत्मक सिरिजमा नेपालले नामिबियालाई १ सय ६९ रनको सामान्य चुनौती दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रन बनाएको हो । टीयूको पिचमा पहिलो इनिङ्समा नामिबियाका स्पिनरहरुले नेपाली ब्याटरलाई सेट हुनै दिएनन् ।

आक्रामक सुरुवात गरे पनि पहिलो पावर प्लेमै ३ विकेट गुमाएपछि नेपाल दबाबमा आएको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ३८ रनको साझेदारी गरे । बेरनार्ड स्कोल्ट्जले छौठौं ओभरमा मेडन राख्दै २ विकेट लिएपछि नेपाल थप दबाबमा आएको थियो ।

कुशलले १८ रन बनाउँदा अनिल साहले खाता खोल्न सकेनन् । देव खनालको पनि खाता खुलेन । सर्वाधिक ५८ रन बनाएका आसिफ स्कोल्ट्जको बलमा बाहिरिए । यो उनको १२ ओडीआई अर्धशतक हो । कप्तान रोहितकुमार पौडेलले खाता खोल्न सकेनन् ।

कुशल मल्ल ३६, दीपेन्द्रसिंह ऐरी ९, सोमपाल कामी ४ र भीम सार्की २६ रनमा आउट भए । करण केसी १२ रनमा आउट भएपछि नेपालको इनिङ्स समाप्त भयो ।

नामिबियाका स्कोल्ट्ज र जन निकोल लोफ्टी-इटनले ४-४ विकेट लिएपछि नेपालको ब्याटिङ अडर धराशायी बनेको हो । केसी, गुलशन झाको स्थानमा आज टिममा फर्किएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.