खेलाडीका लागि देशमै राम्रो वातावरण बने विदेश पलायनबाट रोक्न सकिन्छ : ओली

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
खेलाडीका लागि देशमै राम्रो वातावरण बने विदेश पलायनबाट रोक्न सकिन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने धारणा राखेका छन् ।

ललितुरको एन्फा कम्प्लेक्समा सोमबार राजनीतिज्ञ र कलाकार बीचको मैत्रीपूर्ण खेलका क्रममा उनले राम्रो खेलाडीका लागि बाहिर अवसरहरु धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताए । नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरु जितेर भविष्यका लागि राम्रो गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले आफू प्रधानमन्त्री भएका बेलामा रंगशालाको पुनर्निर्माणदेखि नयाँ रंगशाला निर्माणमा धेरै काम गरेको दाबी पनि गरे ।

‘राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु अलि बढी छन् । तर हामीले आफ्नो स्ट्यान्डर बढाउनुपर्छ । आफ्नो टिमले अन्तर्राष्ट्रिय खेलहरु जित्नुपर्छ । यहीँ राम्रो वातावरण बनाउनुपर्छ । त्यसो हुँदा खेलाडीहरु बाहिर जाँदैनन्,’ ओलीले भने, ‘म प्रधानमन्त्री भएको बेलामा दशरथ रंगशाला बनेको थियो । अन्य थिएन । भत्किएको दशरथ रंगशाला बनाइयो । जनकपुर, पोखरामा अर्को रंगशाला बनाइयो । खेलाडीहरुका लागि राम्रो वातावरण बनाइयो । यही खेल पनि हामी सरकारमा भएका बेलामा टक्सारबाट जमिन खेलकुद परिषद्का नाममा सारेर यो फुटबल मैदान बनाएको हो । हामी नै हौं जहाँ गयो बनाउँछौँ । हामीले बनाएको हो, मान्छेलाई मन नपरेर के गर्ने ।’

अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरु पचाउन अझै कठिन भइरहेको दाबी गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.