नेपाल-क्यानडा सिरिजको अन्तिम खेल आज, सिरिज क्लिन स्विप गर्ने दाउमा नेपाल

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल-क्यानडा सिरिजको अन्तिम खेल आज, सिरिज क्लिन स्विप गर्ने दाउमा नेपाल

काठमाडौं । नेपाल-क्यानडा सिरिजको अन्तिम तथा तेस्रो खेल आज त्रिवि मैदानमा हुँदै छ । आज नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहँदा क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ ।

दोस्रो दिनको खेलमा नेपाली युवा खेलाडीले सानदार प्रदर्शन गरेका थिए । क्यानडा सिरिजका लागि घोषणा गरिएको स्क्वाडमा हेमन्त धामीले मात्र अवसर पाएका छैनन् । दोस्रो खेलमा कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखिएपछि आकाश चन्द र सूर्य तामाङले अवसर पाएका थिए ।

उनीहरु हरेक खेलमा सेप हुँदा आजको खेल पनि रोमाञ्चक हुने विश्वास गरिएको छ । दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि दबाबमा छन् ।

उनलाई नेपाली मैदान, पिच र खेलाडीको खेल्ने शैलीबारे थाहा भए पनि त्यसको फाइदा उठाउन सकेका छैनन् । ठूलो संख्यामा समर्थक उपस्थित भएपछि क्यानडाको टिमले दबाब महसुस गरिरहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो ।

यससँगै नेपाल सिरिजको विजेता बनेको हो । प्रशिक्षक मोन्टी देशाईले ओपनिङमा दुई जोडीलाई परीक्षण गरेका छन् । पहिलो खेलमा कुशलले आसिफ सेखसँग ओपनिङ गरेका थिए । दोस्रो खेलमा भने अनिल शाहले आसिफसँग ब्याटिङ सुरुआत गरेका थिए । आसिफले दुवै खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

त्यसैले आज ओपनिङमा नयाँ जोडी आउने अनुमान गर्न सकिन्छ । मध्यक्रममा भीम सार्की र पवन सर्राफ ठूलो स्कोरमा जान सकेका छैनन् । त्यसैले उनीहरुको स्थान परिवर्तन हुन सक्नेछ । घरेलु मैदानमा नेपालले १२ खेलयता शतप्रतिशत जित हात पारेको छ ।

अहिले नेपाल जितको यात्रालाई कायम राख्ने योजनामा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.