काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) को फुल कार्ड प्राप्त गर्न सफल भएका छन् ।
भारतको जम्सेधपुरस्थित ७१ पारको गोलमुरी गल्फ क्लबमा आज भएको टाटा स्टिल पीजीटीआई क्वालिफाइङ स्कुलको अन्तिम दिन ४-अन्डर ६७ को स्कोर कार्ड बनाउँदै उनले ७२ होलको प्रतिस्पर्धामा १३-अन्डर २७१ को रवाफिलो स्कोर खडा गर्दै संयुक्त रुपमा दोस्रो स्थान बाँडे ।
क्वालिफाइङ स्कुलमा पहिलो दिनदेखि नै उत्कृष्ट प्रदर्शन गरेका सुवासले अन्तिम दिन पनि लोभलाग्दो प्रदर्शन गरे । उनले फ्रन्ट नाइन १-अन्डर ३४ मा पूरा गरे । दोस्रो, चौथो र नवौं होलमा बर्डी प्रहार गरे र पाँचौं र सातौं होलमा एक-एक सट खेर फाले । यसपछि ब्याक नाइन बोगी फ्री खेले । १०औं, ११औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दै उनले ३-अन्डर ३३ को स्कोर दर्ज गरे । सुवासले पहिलो दिन ४-अन्डर ६७, दोस्रो दिन ५-अन्डर ६६ र तेस्रो दिन इभन-पार ७१ मा खेल सकाएका थिए ।
प्रभावशाली प्रदर्शनमा सुवासले सन् २०२४ को भारतीय गल्फ टुरका लागि फुल कार्ड प्राप्त गरेका छन् । योसँगै उनको प्रोफेसनल गल्फ करियरको सुरुवात हुनेछ । सुवास नेपाली एमेच्योर गल्फका अहिलेसम्मकै सर्वाधिक सफल गल्फर हुन् । उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक दुई स्वर्ण जितेका थिए । यसपछि बंगलादेश ओपनमा सद्भाव आचार्यसँग मिलेर टिमतर्फ पनि स्वर्ण जितेका थिए । सो प्रतियोगितामा उनले व्यक्तिगततर्फ रजत हात पारेका थिए । टुरिजम कपमा पनि उनले नेपाललाई टिमतर्फ स्वर्ण दिलाएका थिए ।
सूर्य नेपाल गल्फ टुरमा सुवासले प्रोफेसनल गल्फरहरूलाई कैयौंपटक पछि पारे । उनले पाँचपटक प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितिसकेका छन् । यसरी एमेच्योर रहँदै उनले घरेलु टुरमा सनसनी मच्चाएका थिए । पछिल्लो समय नेपाल गल्फ संघले सुवासलाई विशेष प्रशिक्षणका लागि भारतको तरूण सरदेशाई एकेडेमीमा पठाएको थियो । अहिले पनि उनी सोही एकेडेमीमा प्रशिक्षणरत छन् । उनले २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीबाट स्कलरसिपसमेत पाएका छन् ।
अब सुवासले नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईसँगै भारतीय गल्फ टुरमा प्रतिस्पर्धा गर्नेछन् । शुक्रले गत सिजनको अर्डर अफ मेरिटमा ५२औं स्थानमा रहँदै आफ्नो कार्ड सुरक्षित राखेका छन् ।
प्रि-क्वालिफाइङको तीन प्रतियोगितापश्चात कुल १२३ गल्फरले भाग लिएको अन्तिम चरणमा ३६ होलको समाप्तिमा उत्कृष्ट ८० जनाले कट बनाएका थिए । जहाँ कुल ४-अन्डर २८० को स्कोरमा उत्कृष्ट ३७ जनाले पीजीटीआईको फुल कार्ड प्राप्त गरे ।
यो प्रतियोगिताको उपाधि चीलीका माटियास डोमिङग्वेजले हात पारे । अन्तिम दिन ७-अन्डर ६४ खेल्दै उनले समग्रमा २०-अन्डर २६४ को स्कोर निकाले । नेपालका सुवाससँगै भारतीयद्वय मोहम्मद सन्जु र एमेच्योर अंशुल कब्थियाल कुल १३-अन्डर २७१ सहित संयुक्त रुपमा दोस्रो भए । योपटक पीजीटीआई क्यू-स्कुलमा सहभागी ४१९ गल्फरमध्ये भारतबाहेक १७ देशका ६१ खेलाडीले दाबेदारी प्रस्तुत गरेका थिए ।