चेल्सीका नोनि माडुएके आर्सनलमा अनुबन्धित

श्रावण ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
चेल्सीका नोनि माडुएके आर्सनलमा अनुबन्धित

काठमाडौं । इंग्ल्यान्डका युवा विङ्गर नोनि माडुएके चेल्सीबाट आर्सनलमा अनुबन्धित भएका छन् । 

२३ वर्षीय माडुएकेले आर्सनलसँग पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् । उनी ४८ दशमलव ५ मिलियन पाउण्डको प्रारम्भिक शुल्कमा आर्सनलमा आबद्ध भएका छन् । बोनससहित यो रकम ५० मिलियन नाघ्न सक्ने बीबीसीले जनाएको छ ।

माडुएके क्लब विश्वकपका लागि चेल्सीसँग अमेरिका गएका थिए । तर फाइनलअघि उनले टोली छाडेर आर्सनलको प्रस्ताव स्वीकार गरे । चेल्सीका लागि ९२ खेलमा २० गोल गरेका माडुएके पीएसभीबाट जनवरी २०२३ मा ३० मिलियन पाउण्डमा प्रमियर लिगको यात्रा सुरू गरेका थिए । 

उनी हाल इंग्ल्यान्डको राष्ट्रिय टोलीका सदस्य हुन् । मुख्य प्रशिक्षक मिकेल आर्टेटाले उनलाई "शक्तिशाली र गुणस्तरीय युवा खेलाडी" भन्दै आर्सनलको आक्रमणमा विविधता ल्याउने विश्वास व्यक्त गरेका छन् । तर सामाजिक सञ्जालमा हृयाजट्याग नो टु माडुएके नामक अभियानले ५ हजारभन्दा बढी हस्ताक्षर बटुलेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.