काठमाडौं । नेपाली टोली हेल्प नेपाल स्पोर्टस् क्लबले काभा च्याम्पियन्स लिग भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
गए राति माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा सम्पन्न खेलमा हेल्प नेपालले घरेलु क्लब एसडीसीलाई ३-१ को सेटमा पराजित गर्दै समूह चरणमा आफूलाई बलियो दाबेदारको रूपमा प्रस्तुत गरेको हो ।
सुरूआती दुवै सेटमा प्रभुत्व जमाएको हेल्प नेपालले पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२३ ले जित्दै सहज अग्रता बनाएको थियो । तर तेस्रो सेटमा भने एसडीसीले लय समाउँदै २५-१९ ले जित्यो ।
चौथो सेटमा पुनः पकड जमाएको हेल्प नेपालले २५-२२ को जित निकाल्दै खेल ३-१ ले आफ्नो पक्षमा पार्यो । यससँगै हेल्प नेपालले दुई खेलबाट ५ अंक जोडेर अंक तालिकामा तेस्रो स्थानमा छ ।
यस अघि हेल्प नेपालले माल्दिभ्सकै धिवेही सिफाइन्सलाई ३-२ ले हराएको थियो । हेल्प नेपालले तेस्रो खेलमा शनिबार किर्गिस्तानको बिस्केक-किर्गिस्तानसँग खेल्नेछ ।