रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले गत आर्थिक वर्ष २०८१-०८२ मा ३ करोड ३१ लाख ४० हजार ४४९ रूपैयाँ राजश्व सङ्कलन गरेको छ । राहदानी, संस्था दर्ता, दण्ड जरिवाना र बेरूजु दाखिलासहित उक्त राजश्व सङ्कलन भएको रामेछाप प्रशासनले जनाएको छ ।
यो अवधिमा प्रशासनले नयाँ नागरिकता ६ हजार ४२७ थान र नागरिकताको प्रतिलिपि ५ हजार ९७६ थान जारी गरेको छ । त्यसैगरी ४ हजार ६२७ राहदानीको आवेदन परेकोमा ४ हजार ६५५ थान वितरण गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो ।
उहाँकाअनुसार यो एक वर्षमा १३ हजार ७५५ जनाको राष्ट्रिय परिचयपत्रको विवरण लिने काम भएकोमा ७ हजार १५४ थान वितरण भएको छ । त्यस्तै २९५ नाबालक परिचयपत्र वितरण भएको छ ।
जिल्ला प्रशासनले आर्थिक वर्ष २०८०-०८१ मा जिम्मेवारी सरेर आएको २ वटासहित २५ वटा मुद्दा दर्ता भएकोमा २३ वटा फर्छ्योट गरेको छ । ठाडो उजुरी ९१ वटा दर्ता भएकोमा ९१ वटा नै फर्छ्योट भएको छ । उजुरी अनुसन्धान तथा कारबाहीअन्तर्गत गत आर्थिक वर्षमा अख्तियार दुरूपयोग अनुसन्धान तथा अन्य नियामक निकायबाट प्राप्त १८ वटा उजुरी मध्ये १५ वटा फर्छ्योट भएको र ३ वटा फर्छ्योट हुन बाँकी रहेको प्रजिअ थापाले बताउनुभयो ।
उहाँकाअनुसार गृह मन्त्रालयबाट प्राप्त ४ वटा उजुरी मध्ये ३ वटा फर्छ्योट भएको र एउटा फर्छ्योट हुन बाँकी, वैदेशिक रोजगार सम्बन्धी ४४ वटा उजुरी दर्ता भएकामा ४४ वटा नै फर्छ्योट भएका छन् । त्यसैगरी क्युआरमार्फत प्राप्त ६ वटा उजुरीमा ६ वटै फर्छ्योट भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
प्रशासन कार्यालयमार्फत गएको साउनदेखि असार मसान्तसम्म विपद्मा परी ज्यान गुमाएका र प्रभावित परिवारलाई गरी ३४ लाख ९५ हजार रूपैयाँ राहत रकम समेत वितरण गरिएको छ ।
विपद् जन्य घटनाका पीडित ३०८ जनाको अस्थायी आवास निर्माणका लागि विपद् पोटलमा तथ्याङ्क प्रविष्टि भएको जिल्ला प्रशासनले जनाएको छ । अस्थायी आवास निर्माणको लागि दोरम्बा शैलुङ, खाँडादेवी, सुनापति, लिखुतामाकोशी, उमाकुण्ड गाउँपालिका र रामेछाप नगरपालिकामा गरी १५३ घर परिवारलाई पहिलो किस्ता बापत प्रतिपरिवार २५ हजार रूपैयाँका दरले रकम प्रदान गरिएको प्रजिअ थापाले बताउनुभयो ।
गत वर्षको असोज दोस्रो साता अविरल वर्षाका कारण क्षति भएका आवास निर्माणको लागि पनि विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा आर्थिक सहयोग गरिएको प्रशासनले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाबाट सञ्चालन हुने विपद् राहत र बहुउद्देश्यीय नगद सहायता कार्यक्रम सञ्चालनका लागि सुनापति, खाँडादेवी गाउँपालिका र रामेछाप नगरपालिकामा सञ्चालनका लागि सहजीकरण गरिएको प्रशासनको भनाइ छ ।
यसरी प्रतिघर परिवारलाई १५ हजारका दरले २२४ घरपरिवारलाई ३३ लाख ६० हजार रूपैयाँ राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । विपद् सङ्कटग्रस्त जिल्ला घोषणा पश्चात् जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सबै पालिकाहरूलाई प्राप्त हुने ५०/५० लाख रकम पालिकालाई वितरण गरिएको उहाँले बताउनुभयो ।