जनमत-नाउपा : कहाँ अलमलियो एकता ?

वैशाख २९, २०८२ |रेजिना मल्ल|प्रकाश बम
जनमत-नाउपा : कहाँ अलमलियो एकता ?

काठमाडौं । अन्तिम चरणमा पुगेर स्थगित भएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता अन्योलमा परेको छ । वैशाख १७ गते एकता घोषणा सभास्थलबाट नाउपाका संरक्षक रेशमलाल चौधरी पक्राउ परेपछि बिथोलिएको प्रक्रिया अन्योलमा परेको हो । 

दुई पार्टीबीच एकताका लागि पूर्वसहमति हुनुपर्ने विषय थपिएपछि नेताहरूबीच छलफल समेत हुन सकेको छैन ।

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्योलमा परेको छ । दुई पार्टीबीच वैशाख १७ गते एकता घोषणा सभा सुरु हुनै लाग्दा रेशमलाल चौधरी पक्राउ परेपछि कार्यक्रम नै बिथोलिएको थियो । यसलाई एकता बिथोल्न गरिएको षडयन्त्र भनेर दुवै दलका नेताले आरोप लगाएका थिए । के साँच्चै त्यो षड्यन्त्र नै थियो र सफल भएको हो ? 

किनकि दुवै पार्टीका नेताहरूले चाँडै एकता गर्ने प्रतिबद्धता जनाए पनि सफल हुन सकेको छैन । जनमत पार्टीले सबै घटनाको समीक्षा भइरहेकाले चाँडै एकता हुने प्रतिक्रिया दिएको छ ।

त्यसो त जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच आइतबार एक्लाएक्लै भेटवार्ता भएको थियो । त्यसक्रममा रेशम चौधरी पक्राउ परेको विषयमा दुवै पार्टीमा गम्भीर समीक्षा गरेर मात्र निष्कर्ष पुग्ने सहमति भएको बताइएको छ । यसले यो विषयमा दुवै पार्टीमा के संशय छ भन्ने प्रश्न पनि उठेको छ । र एकता घोषणा पनि तत्काल हुने सम्भावना देखिँदैन । 

सुरूदेखि नै जनमतसँगको एकतामा नाउपा अध्यक्ष रञ्जिता त्यति सकारात्मक नरहेको कतिपय नेता बताउँछन् । नाउपाका संरक्षक चौधरी पनि अब एकता प्रक्रिया के हुन्छ यसै भन्न सक्ने अवस्था नरहेको बताउनुहुन्छ ।

“एकता प्रक्रियामा कहीँ न कहीँ खोट छ जस्तो पनि लागिरहेको छ । अहिले हामी अन्योलमा छौं । प्रक्रिया रोकिएको छ । अब एकताभन्दा पनि आफ्नै संगठन बनाउने भन्ने लाग्छ”, नाउपाका संरक्षक रेशमलाल चौधरीले बताउनुभयो ।

अर्कोतर्फ दुई पार्टीबीच एकताका लागि पद र शक्ति विभाजन पनि बाधक रहेको नेताहरू बताउन थालेका छन । वैशाख १७ गतेसम्म दुई पार्टीबीच एकतापछि एकीकृत दलको संरक्षक रेशम चौधरी, अध्यक्ष सीके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति जुटेको थियो । बाँकी पदाधिकारीमा को को बस्ने भन्ने टुंगो लागेकै छैन । पार्टीका अन्य संरचनामा पनि कुरा मिलेको छैन । अब सबै पदको टुंगो लगाएपछि मात्र एकता घोषणा हुनुपर्ने मत दुवै दलमा देखिएको छ ।

दुई दलबीच एकीकृत दलको नाम नागरिक जनमत पार्टी र चुनाव चिह्न ढकिया राख्ने सहमति भने भइसकेको छ । तर अहिले एकताका लागि सचिवालय वा पदाधिकारी, कार्यसम्पादन वा कार्यकारिणी समिति लगायतका पार्टीका संरचनाको टुंगो लगाउनुपर्ने माग दुवै तर्फबाट उठेको छ । स्वयं नाउपाका संरक्षक चौधरीले एकतालाई थाती राखेर पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिएकाले पनि अब दुई पार्टीबीच तत्काल एकता हुन्छ भन्ने आधार टरेको देखिन्छ ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।

Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।