रियालसँग बेटिसको बराबरी

मंसिर २४, २०८०
रियालसँग बेटिसको बराबरी

स्पेन । स्पेनिस ला लिगामा रियाल बेटिससँग रियाल मड्रिड १ - १ गोलको बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता लिए पनि रियाल मड्रिडले जोगाउन सकेन ।

बेटिसको मैदानमा भएको खेलको पहिलो हाफमा दुवै टोली गोल गर्न असफल रहे । ५३ औं मिनेटमा जुड बेलिङ्घमले डेड लक तोडे । इंग्ल्यान्डका युवा खेलाडीले रियालमा आबद्ध भए देखिनै सानदार प्रदर्शन गरिरहेका छन् । ला लिगामा २० वर्षीय बेलिङघमको १४ खेलमा यो १२ औं ला लिगा गोल हो । तर उनको गोल रियालको जितमा पर्याप्त भएन ।

६६ औं मिनेटमा बेटिसका आइटोर रुइबालले बराबरी गोल फर्काए । त्यसपछिका प्रयासमा गोल गर्न नसकेपछि रियाल मड्रिड अंक बाँड्न बाध्य भयो । यो बराबरीले रियाल मड्रिडको शीर्षस्थानमा रहने सम्भावना कम बनेको छ ।

१६ खेलमा रियाल मड्रिडको ३९ अंक छ । दोस्रो स्थानको जिरोनाको १५ खेलबाट ३८ अंक छ । यदि जिरोनाले आइतबार राति हुने खेलमा बार्सिलोनालाई पराजित गरे पहिलो स्थानमा उक्लने छ । बेटिस सातौँ स्थानमा छ।