फ्राङकफर्टको प्रभावशाली जित, बार्यनको अपराजित यात्रामा पूर्णविराम

मंसिर २४, २०८०
फ्राङकफर्टको प्रभावशाली जित, बार्यनको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं । बुन्डेसलिगामा फ्राङकफर्टले बायर्न म्युनिखलाई ५ - १ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । साविक विजेता बायर्नको जारी सिजन लिगमा यो पहिलो हार हो ।

घरेलु टोलीले खेल सुरु भएको ३६ मिनेटमै बायर्नविरुद्ध ३ - ० गोलको अग्रता लिएको थियो । १२ औं मिनेटमा ओमार मार्मोसले टिमका लागि पहिलो गोल गरे । ३१ औं मिनेटमा एरिक डिना एबिम्बे ह्यारी केन सम्मिलत बायर्नसँगको दूरी २ - ० मा पुर्‍याए । ३६ औँ मिनेटमा ह्युरो लार्सनले गोल गरेपछि पहिलो हाफमा बायर्न ३ - ० ले पछि पर्‍यो । ४४ औं मिनेटमा जोसुवा किमिखले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर उच्च लयमा रहेको फ्राङकफर्टका लागि ५० औं मिनेटमा डिना एबिम्बले व्यक्तिगत दोस्रो गोल गरे । अंग्सगा नौफले ६० औं मिनेटमा गोल गरेपछि बायर्न निराश बनेको हो ।

पुरै ९० मिनेट खेलेका इंग्ल्यान्ड स्ट्राइकर केन गोल गर्न असफल भए । १३ बुन्डेसलिगा खेलमा केनले गोल गर्न नसकेको यो तेस्रो खेल हो । यो खेल अघिसम्म बायर्नले लिगका १२ खेलमा मात्र ९ गोल खाएको थियो । फ्राङकफटले भने लगातार तीन खेलमा हार बेहोर्दै बायर्नविरुद्ध मैदान उत्रिएको थियो । बायर्नलाई पछिल्लो पटक ५ - १ गोलले हराउले पनि फ्राङकफर्टनै थियो । सन् २०१९ मा उसले समान अन्तरले बायर्नमाथि जित हात पारेको हो ।

दोस्रो स्थानको बायर्नको ३२ अंक छ । शीर्षस्थानको बायर लिभरकुसेनको ३५ अंक छ । फ्राङकफर्ट १४ खेलबाट २१ अंक जोड्दै सातौँ स्थानमा छ ।