एरिकको गोलले बुटवलको पहिलो जित

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
एरिकको गोलले बुटवलको पहिलो जित

बुटवल । खेलको दुई मिनेट बाँकी रहँदा एरिक विष्टले गोल गरेपछि नेपाल सुपर लिगमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २-१ ले हराएको छ । जारी लिगमा बुटवलको यो पहिलो जित हो ।

बुटवल लुम्बिनीले स्टेफेन विनोङलाई अग्रपंक्तिमा राखेर इलामको डिफेन्सलाई चिर्ने हरसम्भव प्रयास गरेको थियो । तर पहिलो हाफमा उसका सबै प्रयास असफल भयो । तेस्रो मिनेटमा इलामका दिजितेको प्रहार क्रस बारमा र भरत खबासले पोस्टअघि पाएको बल सेकेन्ड बारमा प्रहार गरे ।

बुटवलले दोस्रो हाफको ४८ औँ मिनेटमा डेडलक तोड्यो । जिलेस्पीको सुन्दर क्रसमा ६ यार्ड बक्सको लाइनमा रहेका विनोङले गोल गरे ।

खेलको ५७ औँ मिनेटमा इलामले पेनाल्टी पायो । मिडफिल्डर एरिकले फोडे कामारालाई पोस्टअघि लडाएपछि इलामले पेनाल्टी पाएको हो । पेनाल्टीको अवसरमा कमाराले गोल गर्दै खेललाई बराबरीमा फर्काउने मौका गुमाए । उनले लिगमा लगातार दुई पेनाल्टीमा गोल गर्न सकेनन् । ७९ औँ मिनेटमा इलामका सन्तोष खत्रीको प्रहार गोलकिपर मोहम्मडूले बचाए पनि रिबाउन्ड बलमा अब्डु-लाए-बाले गोल गरेपछि इलामले बराबरी गर्न सफल भयो ।

तर ८८ औँ मिनेटमा पाएको फ्री किकबाट कप्तान एरिकले पोस्टको कर्नरमा प्रहार गर्दै बुटवललाई पहिलो तीन अंक दिलाए । समान तीन खेल खेलेका दुवै टिमको तीन-तीन अंक छ । लिगमा भोलि पाँच बजे झापा र काठमाडौंबीच खेल हुने छ । सुपर लिगको आयोजकले जाडो यामको ख्याल राख्दै आधा घण्टा छिटो खेल सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.