काठमाडौं । नेपाल सुपर लिगमा आज स्पोर्टिङ इलाम एफसी र बुटवल लुम्बिनीबीच प्रतिस्धर्पा हुँदैछ ।
दशरथ रंगशालामा यो खेल साँझ साढे पाँच बजे सुरु हुनेछ । दुवै टिम आफ्नो तेस्रो खेल खेल्दैछन् ।
यसै सिजन एनएसएलमा डेब्यु गरेको इलाम लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ । विकेश कुथुको कप्तानीमा रहेको इलामले पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्ससंग १ - ० गोलको हार बेहोरेको थियो । तर दोस्रो खेलमा झापा एफसीमाथि १ - ० गोलको जित हात पार्दै पुनरागमन गरेको हो ।
इलाम दुई खेलबाट तीन अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ । बुटवल भने पहिलो जितको खोजीमा हुनेछ । दुई खेल खेल्दा अंकको खाता खोल्न नसकेको बुटवल तालिकाको पुच्छार अर्थात नवौँ स्थानमा छ। बुटवलले आफ्ना अघिल्ला दुई खेलमा ललितपुर सिटी एफसीसँग २ - ० र धनगढी एफसीसँग समान १ - ० गोलको हार बेहोरेको थियो ।
तालिकाको शीर्षस्थानमा ३ खेलबाट सात अंक जोडेको धनगढी छ । दोस्रो स्थानको ललितपुरको ५ अंक छ ।