लन्डन । इंग्लिस प्रिमियर लिगमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडमाथि १ - ० गोलको जित हात पारेको छ । एक महिनाको अन्तरमा न्युक्यासलले युनाइटेडलाई पराजित गरेको यो दोस्रो पटक हो ।
न्युक्यासलको मैदानमा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । अलेहान्द्रो गानाचोको प्रहार न्युक्यासलका गोलकिपरले सफल हुन दिएनन् । युनाइटेडका ओनानाले पनि ब्रेक अघि आफ्नो टिमलाई गोल खानबाट जोगाएका थिए । तर ५५ औं मिनेटमा न्युक्यासलले डेडलक तोड्यो । उसका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए । जारी सिजनको प्रिमियर लिगमा उनको यो छैटौँ गोल हो । बाँकी समयमा युनाइटेड खेलमा फर्कन सकेन ।
च्याम्पियन्स लिगमा गत बुधबार गालातासारेसँग ३ - ३ गोलको बराबरी खेलेको एरिक टेन हाखको टोली अर्को निराशाजनक नतिजामा चिक्त बुझाउन बाध्य भयो ।
न्युक्यासलले सन् १९२२ पछि पहिलो पटक लगातार तीन खेलमा युनाइटेडलाई पराजित गरेको हो । यसअघि न्युक्यासलले गत नोभेम्बर २ मा लिग कप राउन्ड अफ सिक्सटिनमा ३ - ० गोलको जित हात पारेको थियो । प्रिमियर लिगको अंक तालिकाको पाँचौँ स्थानमा रहेको न्युक्यासलको १४ खेलबाट २६ अंक भएको छ । युनाइटेड २४ अंकका साथ सातौँ स्थानमा छ ।