स्पेन । स्पेनिस ला लिगामा रियाल मड्रिड अंक तालिकाको शीर्षस्थानमा फर्किएको छ । गएराति भएको खेलमा रियालले ग्रानाडामाथि २-० गोलको सहज जित हात पारेको हो ।
सान्टियागो बर्नाबेउमा ब्राहिम डियाजले रियाललाई २६ औं मिनेटमा अग्रता दिलाएका थिए । उनका लागि टोनी क्रुजले उत्कृष्ट पास उपलब्ध गराए । पहिलो हाफमा कार्लोस एन्सेलोटीको टोली १ - ० ले अघि रह्यो ।
५७ औं मिनेटमा रोद्रिगोले रिबाउन्ड बलमा गोल गरेपछि रियालको जित सुनिश्चित भएको हो । जुड बेलिङगमको प्रहार गोलकिपरले बचाएका थिए । सोही बलमा रोद्रिगोले बिना गल्ती गोलमा परिणत गरेका हुन् ।
रियाल चोटग्रस्त मुख्य खेलाडी भिनिसियस जुनियर, लुका मोड्रिच र इडुवार्डो बिनानै मैदान उत्रिएको थियो । रियालले सबै प्रतिस्पर्धामा गरी पछिल्ला पाँच खेलमा हार बेहोरेको छैन । यस्तै यो सिजन बर्नाबेउमा रियाल अपराजित छ ।
तालिकाको पहिलो स्थानमा रहेको रियालको १५ खेलबाट ३८ अंक छ । दोस्रो स्थानको जिरोनाको पनि समान ३८ अंक छ । गएराति नै भएको खेलमा जिरोनाले भ्यालेन्सियालाई २ - १ गोलले हराएको थियो । तेस्रो र चौथो स्थानमा रहेका एट्लेटिको मड्रिड र बार्सिलोना आज राति आमनेसामने हुने छन् ।