काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हाखले खराब प्रदर्शन गरेको भन्दै आलोचित भइरहेका गोलकिपर आन्द्रे ओनानाले बचाउ गरेका छन् ।
इंग्लिस प्रिमियर लिगको खेलमा न्युक्याससँग खेल्नु अघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक टेन हाखले रणनीतिक रूपमा ओनाना लिगकै दोस्रो उत्कृष्ट गोलकिपर भएको बताएका हुन् । इन्टर मिलानबाट आएका ओनानाले डाविड डा हेयालाई प्रतिस्थापन गरेका हुन् ।
त्यस यता नै उनको प्रदर्शनलाई लिएर आलाचना हुने गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा युनाइटेडले गालातासारेसँग तीन तीन गोलको बराबरी खेलेको थियो । दुई शून्यको अग्रता लिएपनि युनाइटेडले जोगाउन सकेन ।
ओनानाको दुई गल्ती युनाइटेडका लागि महँगो साबित भएको थियो । क्यामरुनी ओनानाले उत्कृष्ट पुनरागमन गर्ने विश्वास रहेको प्रशिक्षक टेन हाखको भनाइ छ । युनाइटेडले प्रिमियर लिगमा आज राति न्युक्यासलको भ्रमण गर्दै छ ।
खेल नेपाली समय अनुसार पौने दुई बजे सुरु हुनेछ । आजबाट लिगमा १४ औँ चरणका खेल सुरु हुन लागेका हुन् । युनाइटेड २४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।
शीर्ष स्थानको आर्सनलको ३० र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ ।