अस्ट्रेलियाले छैटौँ पटक उचाल्यो विश्वकप क्रिकेटको उपाधि, भारत ६ विकेटले स्तब्ध

मंसिर ३, २०८० |कान्तिपुर टीभी संवाददाता
अस्ट्रेलियाले छैटौँ पटक उचाल्यो विश्वकप क्रिकेटको उपाधि, भारत ६ विकेटले स्तब्ध

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले उचालेको छ । अस्ट्रेलिया योसहित छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि उचाल्न सफल भएको छ ।

आज भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई १ लाख ३० हजार समर्थकबीच ६ विकेटले स्तब्ध पारेको हो । अस्ट्रेलियाको जीतमा ट्राभिस हेडले शतक प्रहार गरे ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा प्याट कमिन्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । भारतले ५० ओभरमा अल आउट हुँदै २ सय ४० रनको मध्यम योगफल तयार पारेको थियो । ओपनर शुभमन गिल ४ रन र आक्रमक रुपमा प्रस्तुत भएका कप्तान रोहित शर्मा ४७ रनमा आउट भए ।

ग्लेन म्याक्सवेलको बलमा ट्रेभिस हेडले रोहितको उत्कृष्ट क्याच लिएका थिए । यही क्याच खेलको टर्निङ पोइन्ट बन्यो । श्रेयस ऐअर चार रनमा मैदान बाहिरिए । विराट कोहली र के एल राहुलले इनिङस सम्हाल्ने प्रयास गरेका थिए ।

कोहलीले ५४ र राहुलले ६६ रन बनाउँदा बाँकी ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । मिचेल स्टार्कले तीन, जोश हेजलउड र कमिन्सले दुई-दुई तथा म्याक्सवेल र एडम जाम्पाले एक-एक विकेट लिए ।

जवाफमा अस्ट्रेलियाले ४२ बल बाँकी हुँदा ४ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो । अस्ट्रेलियाले टिमको स्कोर ४७ रन हुँदा तीन विकेट गुमाएको थियो । ७ रन बनाएका डेबिड वार्नरलाई मोहम्मद सामीले आउट गरे । १५ रनमा मिचेल मार्श र चार रन बनाएका स्टिभन स्मिथ दुवै जस्प्रित बुमराहको बलमा मैदान बाहिरिएका थिए । तर चौथो विकेटका लागि हेड र मार्नस लाबुसेनले १ सय २५ बलमा १ सय ९२ रनको साझेदारी गरे ।

हेड जितका लागि दुई रन बाँकी हुँदा सिराजको बलमा क्याच आउट भए । उनले १ सय २० बलमा १ सय ३७ रनको शानदार इनिङस खेले । विश्वकप फाइनलमा लक्ष्य पछ्याउदा शतक बनाउने हेड केबल दोस्रो खेलाडी हुन् ।

लाबुसेन ५८ रनमा अविजीत रहे । म्याक्सवेलले सिराजलाइ विजयी रन प्रहार गर्दा अहमदाबाद शान्त बनेको थियो ।

सन २०२३ को विश्वकपमा भारतले बेहोरेको यो नै एकमात्र हार हो । अस्ट्रेलियाले भने सुरुवाती दुई खेल हारेको थियो । त्यसअघि सन् २००३ मा पनि तेस्रो पटक च्याम्पियन हुँदा अस्ट्रेलियाले भारतलाई नै हराएरको थियो । सो बेला खेलाडीका रहेका राहुल द्रविड यो पटक भारतीय टिमका मुख्य प्रशिक्षक हुन् ।

यस हारसँगै सन २०११ पछि विश्वकप उपाधि जित्ने भारतको सपना अधुरै रहयो । सर्वाधिक सफल अस्ट्रेलियाले २०१५ पछि उपाधि उचालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.