काठमाडौं । नेपाल १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।
चीन हाङचोउस्थित झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे ।
पाँचौँ विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन ३५ रनमा आउट भए । नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । कुशल भुर्तेल ३५ रनमा आउट भए । एक वर्षपछि पुनरागमन गरेका विकेटकिपर विनोद भण्डारी १३, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए । माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए ।
जवाफमा २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स निर्धारित २० ओभरमा दुई बल बाँकी छँदा अलआउट हुँदै ७४ रनमा समेटियो । माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रनको योगदान दिए । फरिद शिउस १० रनमा आउट भए । रसम अशिद १२ रनमा अविजित रहे । त्यसबाहेक माल्दिभ्सका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
माल्दिभ्सका ६ ब्याटर शून्य रनमा आउट भएका थिए । नेपालको जितमा अभिनाश बोहराले ३ दशमलव ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलो पटक ६ विकेट लिएका हुन् । उनी टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलरसमेत बनेका छन् । उनी आफ्नो खेलको पहिलो र अन्तिम ओभरमा ह्याट्रिक गर्न चुके । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५–५ विकेट लिएका थिए ।
योसँगै समूह ‘ए’ बाट नेपाल र ‘सी’ बाट मलेसिया क्वाटरफाइनल पुगिसकेका छन् । समूह ‘बी’ बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली अन्तिम ८ मा प्रवेश गर्ने छ ।
क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएका थिए । क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।