सिटीको अपराजित यात्रामा पूर्णविराम

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
सिटीको अपराजित यात्रामा पूर्णविराम

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी यात्रा टुंगिएको छ । गएराति सम्पन्न खेलमा उल्भससँग २-१ ले पराजित भएसँगै साबिक विजेता सिटीको अविजित यात्रा सातौँ खेलमा आएर टुंगिएको हो ।

उल्भसको मैदानमा खेलको १३ औँ मिनेटमा रुवेन डियासले आत्मघाती गोल गरेपछि उपहार गोलबाट घरेलु टोलीले अग्रता बनायो । ५८ औँ मिनेटमा अर्जेन्टिनी युवा फवार्ड जुलिया अल्भारेजले गोल गर्दै सिटीलाई बराबरीमा फर्काए । तर त्यसको ८ मिनेटपछि हृवांग हि-चानले गोल गर्दै उल्भसलाई २-१ को जित दिलाए ।

सिजनको पहिलो हारका बाबजुद ७ खेलमा १८ अंक जोडेको सिटी शीर्ष स्थानमा कायमै छ । उल्भस समान खेलबाट ७ अंकका साथ १३ औँ स्थानमा छ ।

शनिबारै सम्पन्न अन्य खेलमा आर्सनलले बर्नमाउथलाई ४-०, न्युक्यासल युनाइटेडले बर्नली तथा वेस्टह्याम युनाइटेडले सेफिल्ड युनाइटेडलाई समान २-० ले हराए । लुटन टाउनले एभर्टन तथा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि समान १-० को जित हात पारे। ९ खेलाडीमा सीमित लिभरपुल टोटेनहमसँग २-१ ले स्तब्ध भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.