काठमाडौं । भारतले साफ यू-१९ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको छ । भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई फाइनलमा ३–०ले हराउँदै उपाधि रक्षा गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो सहभागितामै फाइनल पुगेको पाकिस्तान ब्रेकअघि भारतलाई रोक्न सफल भयो । तर दोस्रो हाफमा भने भारतको आक्रामक खेलकाअघि पाकिस्तानी डिफेन्डर कमजोर बने ।
६४ औँ मिनेटमा परिवर्तित खेलाडी मान ग्लेन थाङ किपजेनले डेडलक तोडे । डि-बक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत बनेको थियो ।
८५ औँ मिनेटमा उनैले भारतको अग्रता दोब्बर पारे । इन्जुरी समयमा गोगोसर गोएरीले गोल गरेपछि भारत ३ - ० को जितकासाथ लगातार तेस्रो पटक यू-१९ साफ च्याम्पियन बन्यो । भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।
सन् २०१५ र २०१७ को संस्करणमा भने नेपाल विजेता बनेको थियो । घरेलु टोली नेपाल भने यो पटक सेमिफाइनलबाटै बाहिरियो । सेमिफाइनलमा नेपाललाई भारतले नै पेनाल्टी सुटआउटमा हराएको थियो ।