डेब्यु सिजनमै चर्च ब्वाइजले उचाल्यो ए-डिभिजन लिगको उपाधि

जेष्ठ २३, २०८० |खेल ब्युरो
डेब्यु सिजनमै चर्च ब्वाइजले उचाल्यो ए-डिभिजन लिगको उपाधि

काठमाडौं । नवप्रवेशी चर्चब्वाइज युनाइटेडले पहिलो सहभागितामै सहिद स्मारक ए-डिभिजन लिगको उपाधि जितेर इतिहास रचेको छ । 

चर्चब्वाइज ३७ वर्षपछि मनाङ मर्स्याङ्दी क्लबले बनाएको कीर्तिमान बराबर गर्न सफल भएको हो । उत्कृष्ट सुरुवातका बाबजुद खेलाडीको चोट र प्रशिक्षकको फेरबदलले लय गुमाएको चर्चब्वाइजले अन्ततः एक खेलअगावै उपाधि जित्न सफल भयो । नेपाली फुटबलका सफल प्रशिक्षक बालगोपाल महर्जन र डिफेन्डर अनन्त तामाङको करियरको यो पहिलो लिग उपाधिसमेत हो ।

२५ औं चरणमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बााडेपछि चर्चब्वाइजले सहिद स्मारक ए-डिभिजन लिगको उपाधि जितेको हो । चर्चब्वाइजले २५ खेल खेल्दा १२ जित र ९ बराबरीको नजिता निकाल्यो । चर्चब्जाइजले यसअघि २०७५ सालमा सी डिभिजन क्‍वालिफायर्स, २०७६ मा सी डिभिजन र २०७८ सालमा बी डिभिजनको उपाधि जितेको थियो । चर्चब्वाइजले मनाङ मर्स्याङ्दीले ४० को दशकमा राखेको कीर्तिमानी बराबरी गर्‍यो ।

नवप्रवेशी चर्चब्वाइजले लिगका सुरुवाती तीन खेल जितेको थियो । तर खेलाडीको चोट र प्रशिक्षक फेरबदलसँगै लय गुमाएको टिमले त्यसपछिका ६ खेलमा लगातार बराबरीमा चित्त बुझायो । ११ औं चरणमा जावलाखेलले एक शून्यको नतिजा निकाल्दै चर्चब्वाइजको अपराजित यत्रामा पूर्णविराम लगाएको थियो । तर, जावलाखेल १८ औं चरणदेखि २२ औं चरणसम्म जितविहीन बन्यो । दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गरेको पुलिस क्लबले समेत चर्चलाई भेट्न सकेन । चर्च दाबेदार मछिन्दसाग हेड टु हेडमा अघि रहयो ।

हाल थ्रीस्टार क्लबका कप्तान बिक्रम लामा चर्चब्वाइजले बी डिभिजन जित्दा टिम अफिसियलको रुपमा आबद्ध थिए ।

सुरुवातमा प्रदीप हुमागााईको प्रशिक्षणमा रहेको टिमलाई आठौं चरणपछि बालगोपाल महर्जनले सम्हालेका हुन् । शीर्ष डिभिजनको अनुभव नभएको नवप्रवेशी क्लब पहिलो सिजनमै च्याम्पियन बन्यो ।

लिगको उपाधि जिते पनि चर्चब्वाइजले एएफसी क्लब लाइसेन्स नभएका कारण एएफसी कप क्वालिफायर्समा नेपालको प्रतिनिधित्व गर्न भने पाउने छैन ।