फ्रेन्च ओपनमा एरिना सेबालेन्कालाई सफलता

जेष्ठ २०, २०८०
फ्रेन्च ओपनमा एरिना सेबालेन्कालाई सफलता

काठमाडौं । बेलारुसकी एरिना सेबालेन्काले फ्रेन्च ओपन टेनिसमा आफ्नो उच्च प्रदर्शनलाई कायमै राखेकी छन् ।

विश्व वरीयताको दोस्रो स्थानमा रहेकी सेबालेन्काले चौथो चरण प्रवेश गर्ने क्रममा रुसकी कामिला राखिमोभालाई सोझो सेटमा पराजित गरेकी हुन् । सेबालेन्काले पहिलो सेट ६-२ ले जितेकी थिइन् । दोस्रो सेटमा पनि कामिलालाई उनले ६-२ ले नै पराजित गरिन् ।

उपाधिको बलियो दाबेदारका रुपमा रहेकी सेबालेन्काले एक घण्टा ७ मिनेट कोर्टमा बिताएकी थिइन् । जारी फ्रेन्च ओपनमा उनले अहिलेसम्म सेट गुमाएकी छैनन् । अमेरिकाकी जसिका पिगुला बेल्जियमकी अलिस मर्टेन्ससँग सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् । मर्टेन्सले ६-१, ६-३ को सहज जित हात पारिन् । मर्टेन्सले पिगुलालाई पराजित गरेको यो तेस्रोपटक हो ।