सहिद स्मारक ए डिभिजन : लिग समीकरण रोमाञ्चक होडमा

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन : लिग समीकरण रोमाञ्चक होडमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा २३औं चरणका खेल सकिँदासम्म उपाधि जित्ने निश्चितता र रेलिगेसन पर्ने टुंगो छैन । लिग अन्त्यको संघारमा आइपुगेको अवस्थामा तीन चरणका खेल मात्र बाँकी छन् । तीन चरणका खेल बाँकी रहेको समयमा लिगको अन्त्यमा कस्तो स्वरूप लिने हो र को बच्ने भन्नेमा सबै क्लबलाई चिन्ता छ ।

२३औं चरणसम्म लिग सकिए पनि तीन चरणका खेल बाँकी रहँदा कुनै पनि टोलीको उपाधि र रेलिगेसन टार्ने सम्भावना यकिन छैन । बाँकी तीन चरणमा कसले कसको विरुद्ध खेल्ने हो, त्यो निश्चित भए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । जसले गर्दा लिग रोमाञ्चक बनिरहेको छ र लिग समीकरण प्रतिस्पर्धात्मक बनेको छ ।

यसै सिजन बढुवा भएको चर्च ब्वाइजले स्टार खेलाडीलाई समेट्दै लिग आरम्भ गरेसँगै २३औं चरणमा शीर्ष स्थान लिन सफल भएको छ । ४१ अंक बटुल्दै शीर्षता कायम गरेको चर्च ब्वाइजले ११ खेलमा जित निकाल्दा ८ खेलमा बराबरी र ४ खेल गुमाउन पुगेको छ । चर्च ब्वाइजलाई साबिक विजेता मच्छिन्द्रले पछ्याइरहेको छ । दुई अंकले मात्र पछि रहेको मच्छिन्द्रले २३औं चरणसम्म आइपुग्दा १० खेलमा स्पष्ट जित निकाल्दा ९ खेलमा बराबरी र ४ खेलमा नतिजा सुम्पिएको छ । यस्तै दोस्रो स्थानको मच्छिन्द्र भन्दा दुई अंकले पछि तेस्रो स्थानमा रहेको जावलाखेलले भने जारी लिगमा अपेक्षाभन्दा धेरै राम्रो प्रदर्शन गर्नसक्यो । बलियो टोलीविरुद्ध सुखद् नतिजा निकाल्दा तालिकाको पुछारतिर अड्किएका टोलीसँग जावलाखेलको बिर्सनलायक प्रदर्शन रह्यो ।

जावलाखेलले १० खेलमा जित निकाल्दा ७ खेलमा बराबरी र ६ खेलमा नतिजा गुमाएको छ ।

यस्तै विभागीय टोली नेपालको पहिलो लेगमा खराब प्रदर्शन रहे पनि अन्त्यतिर पुलिसको प्रदर्शन सुधारिएको थियो । गत सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन । धेरैको अनुमान थियो, यसपल्ट पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत हुनेछ । यसैक्रममा पुलिस तेस्रो चरणमा आइपुग्दा सबैभन्दा खराब खेल्ने टिम रह्यो तर अहिले भने पुलिसलाई रेलिगेसन डर कम भएको छ ।

पुलिस पछिल्ला चारमा स्पष्ट जित निकाल्दै चौथो स्थानमा उक्लिन सफल भएको छ । पुलिसले २३ खेलबाट १० खेलमा जित निकाल्दा ४ खेलमा बराबरी र ९ खेलबाट अंक गुमाएको छ । यस्तै सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङले पछिल्ला पाँच खेलमध्ये ३ खेलमा बराबरी र दुई खेलमा जित निकाल्दै स्थान सुधार गरे पनि खेलमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । सिजन जारी रहँदा खराब लय रहँदा प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएसँगै र नयाँ प्रशिक्षक विसन गुरुङ जोडिएसँगै टोलीले सुधारिएको खेल देखाउन सक्यो ।

अर्को विभागीय टोली त्रिभुवन आर्मीको पनि २३औं चरणसम्म आइपुग्दा सन्तुलित खेल भएन । केही अनुभवी खेलाडी विदेश पलायन भएसँगै कमजोर देखिएको आर्मीले छैटौं स्थानमा अटाएको छ । आर्मीले २३ खेलबाट ७ जित निकाल्दा १० खेल बराबरी र ६ खेलमा नतिजा विपक्षी टोलीलाई सुम्पिएको छ । आर्मीको ३० अंक हुँदा शीर्ष स्थानको चर्च ब्वाईजभन्दा ११ अंकले पछि छ र आर्मीको उपाधि अपेक्षा समाप्त भइसकेको छ ।

अर्को टोली हिमालयन शेर्पाको पनि प्रदर्शन पहिलो लेगमा जस्तो दोस्रो लेगमा भएन । बलिया टोलीसँग सुखद् नतिजा निकाले पनि आफूभन्दा तल रहेका टोलीसँग खुलेर खेल्न सकेन । हिमालयन शेर्पाले २३ खेल सक्दा ७ खेलमा स्पष्ट अंक बटुल्दा ९ खेलमा बराबरी र ७ खेल गुमाउन पुगेको छ ।

उता सातदोबाटो एकै चरण मात्र शीर्षमा टिक्यो, तर जावलाखेलसँग २-१ ले पराजित भएपछि तेस्रो स्थानमा झरेको थियो । त्यसपछिको डाउन फल भएको सातदोबाटाको प्रदर्शन राम्रो हुन सकेन । पछिल्ला पाँच खेलमा सातदोबाटोले लगातार चार खेलमा नतिजा गुमाउँदा शीर्ष स्थानको होड कमजोर बन्यो । सातदोबाटो २९ अंकका साथ आठौं स्थानमा रहँदा जारी लिगमा ८ खेलमा जित, ५ खेल बराबरी र १० खेल गुमाउन पुगेको छ ।

समान २९ अंक रहेको न्युरोड टिम (एनआरटी) पनि २३औं चरणसम्म आइपुग्दा सन्तुलित प्रदर्शन गर्न सकेको छैन । पछिल्ला पाँच खेलमा दुई जित दुई बराबरी र एक खेल गुमाएको न्युरोड टिमको रेलिगेसन भय बाँकी नै छ । पुछारको खुमलटारले २४ अंक जोडेको छ । तीन खेलमध्ये सबैमा सुखद् नतिजा निकाले खुमलटारको समीकरणबाट बदलिनेछ र छैटौं स्थानदेखिको टोलीलाई उत्तिकै डर रहेको छ ।

यस्तै अर्को विभागीय टोली एपीएफले सुरुवात राम्रो गरे पनि पछिल्ला पाँच खेलमध्ये दुई जितले राहत मिल्यो । यद्यपि एपीएफलाई रेलिगेसन बच्ने निश्चितता छैन । खराब लयलाई अनुभवी प्रशिक्षक मेघराज केसीले तोड्न सकेका छैनन् ।

त्यस्तै थ्री स्टारका साख कमजोर बन्दै गएको छ । पछिल्ला पाँच खेलमध्ये थ्री स्टारले चार खेलमा नतिजा सुम्पिँदा एक खेलमा बराबरी खेलेको छ । थ्री स्टार २७ अंकका साथ तालिकाको ११औं स्थानमा छ । अर्को टोली संकटालाई पनि यो सिजन रेलिगेसन बच्ने सोचभन्दा माथि उठ्नका लागि मौका नै मिलेन ।

१२औं स्थानमा रहँदा संकटा रेलिगेसनभन्दा एक स्थानमाथि मात्र छ । ६ खेलमा मात्र स्पष्ट जित निकालेको संकटाले ९ खेलमा बराबरी खेल्दा ८ खेलमा नतिजा सुम्पिएको छ । पुछारमा रहेका फ्रेन्डस् र खुमलटार भने रेलिगेसन बच्नका लागि संघर्ष गरिरहनुपर्ने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement