रोड्स चितवन क्वाटरफाइनलमा प्रवेश

जेष्ठ १७, २०८० |माधव अर्याल
रोड्स चितवन क्वाटरफाइनलमा प्रवेश

पाल्पा । कर्णेल उजिरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ अन्तर्गत बुधबारको खेलमा विजयी भएसँगै सेन्ट्रल कलेज रामपुर फुटबल क्लब रोड्स चितवन क्वाटर फाइनल प्रवेश गरेको छ । रोड्स चितवनले न्यु युथ युनियन फुटबल क्लब पाल्पालाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरेको हो ।

तानसेन टुँडिखेलमा जारी प्रतियोगिताअन्तर्गत निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । थप समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । खेल सुरु भएको ४ मिनेटमा रोड्स रामपुर चितवनका विक्की राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । न्यु युथ युनियन पाल्पाका मनीष तामाङले ३६औं मिनेटमा गोल फर्काए । दुवै टिमबाट निर्धारित समय र थपिएको समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।

टाइब्रेकरमा रामपुर चितवनका लागि विक्की चाम्लिङ राई, आकाश थापा मगर, सन्तबहादुर गुरुङ र सचिन थापा मगरले जाली चुमे । न्यु युथ युनियनका सुशील थापा र खमिर सिँजालीले जाली चुमे भने सन्दीप राना र तारा थापाले गोल गर्न चुकेपछि रोड्स चितवन विजयी भयो ।

बुधबारको खेलमा म्यान अफ दी म्याच रोड्स चितवनका जितेस गुरुङ भए । उनले नगद ३ हजार पाए ।

बिहीबार स्वयम्भू युथ क्लब काठमाडौं र विष्णु पादुका युथ क्लब पोखराबीच हुने आयोजक पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीरजंग राणाले जनाए । रोड्स चितवन २१ गते वीर गोर्खाली लखनउ भारतसँग खेल्नेछ । जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ, पाल्पाली करुवा ट्रफी, मेडल पाउनेछन् । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।