ए डिभिजन लिग : संकटा र थ्री स्टार बराबरी, सातदोबाटोमाथि मच्छिन्द्रको ३-१ को जित

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
ए डिभिजन लिग : संकटा र थ्री स्टार बराबरी, सातदोबाटोमाथि मच्छिन्द्रको ३-१ को जित

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बुधबार संकटा क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा ओलावाले अफिजको ह्याट्रिकको सहयोगमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि ३-१ को सहज जित निकालेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा बुधबार भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । सुरुवातबाटै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका लागि सुन्दर मौका बनाए पनि सदुपयोग गर्न असफल रहे ।

पहिलो हाफको अन्त्यतिर थ्री स्टारका दीपेश गुरुङले पाएको अवसर खेर फाल्दा अग्रताको मौका गुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा संकटाले दुई अवसरलाई सदुपयोग गर्न सकेन । सोही क्रममा काउन्टर गरेको थ्री स्टारका आदित्य शाक्यले गरेको शक्तिशाली प्रहार संकटाका गोलकिपर टीकेन्द्रसिंह थापाले बचाउँदै विफल बनाएका थिए । अर्को मिनेटमा अनमार्क रहेका दीपेश सहज अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलको इन्जुरी समयमा थ्री स्टारका मार्टिन्स अजाइको क्रसलाई सिफामन्डला माथेनवाले हेडमार्फत जाली चुमाए पनि अफसाइड रहँदा त्यसले मान्यता पाएन । यस बराबरीसँगै थ्री स्टार र संकटाले समान २३ खेलबाट समान २७ अंक बनाएका छन् । थ्री स्टार ११औं स्थानमा छ । संकटा गोलअन्तरका आधारमा १२औं स्थानमा छ ।

मच्छिन्द्र ३-१ ले विजयी

लिगअन्तर्गत बुधबारै भएको अर्को खेलमा अफिजको ह्याट्रिकमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि ३-१ को सहज जित निकालेको हो । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा १६औं मिनेटमा अफिजको गोलमार्फत मच्छिन्द्रले अग्रता लिएको थियो । अफिजले दिवाकर चौधरीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा अफिजले नै टोलीको अग्रता दोब्बर बनाउँदा ५६औं मिनेटमा आफिजले ह्याट्रिक पूरा गरेका थिए । जारी लिगमा अफिजको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले खुमलटारविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । तीन गोलले पछि परे पनि सम्हालिने प्रयास गरेको सातादोबाटोका लागि ८४औं मिनेटमा जोर्डन पुन मगरले गोल गर्दै अग्रता छोट्याउन सफल भए । बाँकी समयमा थप गोल हुन सकेन र मच्छिन्द्रले स्पष्ट अंक जोड्न सफल भयो । यससँगै मच्छिन्द्र लिगमा अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।

जितसँगै २३ खेलमा १० जित, नौ बराबरी र चार हारको नतिजासहित ३९ अंक जोडेर मच्छिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । पराजय बेहोरेको सातदोबाटो समान खेलमा आठ जित, पाँच बराबरी र १० हारको नतिजासहित २९ अंकका साथ सातौं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement