काभा महिला भलिबल : साविक विजेता नेपाल सेमिफाइनलबाट बाहिरियो

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
काभा महिला भलिबल : साविक विजेता नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं । साविक विजेता नेपाल काभा महिला भलिबल च्यालेन्जकपको सेमिफाइनलबाट बाहिरिएको छ । दोस्रो सेमिफाइनलमा नेपाल काजकिस्तानसँग पाँच सेटमा पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बलियो काजकिस्तानलाई नेपालले कडा चुनौती पेस गरेको थियो । पहिलो सेटमा नेपाल ३०–२८ ले पराजित भएको थियो । दोस्रो सेट २५–१६ ले जित्दै नेपालले पुनरागमन गर्यो । तेस्रो सेटमा नेपालले २५–१५ को जित सहित अग्रता बनायो । तर , चौथो सेटमा नेपालले सोचे अनुसार प्रदर्शन गर्न सकेन । चौथो सेटमा सुरुवातबाट पछि परेको नेपाल २५–१८ ले पराजित भयो । निर्णायक तथा पाँचौं सेटमा १५–७ ले पराजित भएको हो ।

प्रतियोगितामा पाँचौं सेटसम्म लम्बिएको यो नै पहिलो खेल हो । नेपालले यसअघिका दुई संस्करणको उपाधि जितेको थियो । अब फाइनलमा काजकिस्तानले भारतको सामना गर्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.