सहिद स्मारक ए डिभिजन लिग : एपीएफले रोमाञ्चक जित निकाल्दा एनआरटीसँग आर्मी स्तब्ध

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिग : एपीएफले रोमाञ्चक जित निकाल्दा एनआरटीसँग आर्मी स्तब्ध

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबमाथि २-१ को रोमाञ्चक जित निकाल्दा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब एनआरटीसँग १-० ले स्तब्ध भएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन दुवै गोल आवास लामिछानेले गरे भने संकटाका लागि मनीष डाँगीले एक सात्वना गोल फर्काउन सफल भए । खेलको २४औं मिनेटमा आवासको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा आवासले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

५०औं मिनेटमा मनीषले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । यससँगै एपीएफलले संकटासँग पहिलो भेटमा बेहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा संकटा १-० ले विजयी भएको थियो । जितसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । पराजय बेहोरेको संकटाको समान खेलबाट २३ अंक छ ।

लिगअन्तर्गत बुधबारै भएको अर्को खेलमा आर्मीले एनआरटीलाई १-० को नतिजा सुम्पियो । एनआरटीलाई स्पष्ट जित दिलाउन कृतिशरत्न छुन्जूले दोस्रो हाफमा गरेको गोल निर्णायक बनेको हो । कृतिशले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलको ७९औं मिनेटमा गोल गरेका थिए । कृतिशले सञ्जीव विष्टले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका हुन् । लिगमा आर्मीविरुद्ध एनआरटी अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट ३-३ को बराबरीमा सकिएको थियो । जितसँगै २१ खेलमा २१ खेलमा २६ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लिएको छ । पराजय बेहोरेको आर्मी समान खेलबाट २९ अंकका साथ पाँचौं स्थानमा यथावत् छ ।

लिगमा बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच एन्फा मुख्यालयमा हुनेछ भने दोस्रो खेल चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच च्यासल मैदानमा प्रतिस्पर्धा हुनेछ ।