हिमालयनलाई स्तब्ध पार्दै चर्च ब्वाइजले जित्यो सिमरा गोल्डकपको उपाधि

चैत्र १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
हिमालयनलाई स्तब्ध पार्दै चर्च ब्वाइजले जित्यो सिमरा गोल्डकपको उपाधि

बारा । सिमरा गोल्डकपको उपाधि ए डिभिजन लिग क्लब चर्च ब्वाइज युनाइटेडले जितेको छ ।

गएराति भएको फाइनलमा चर्च ब्वाइजले दश खेलाडीमा समेटिएको हिमालयन शेर्पालाई २ - ० गोलले पराजित गरेको हो । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।

बारास्थित सिमरा रंगशालामा भएको खेलको छैटौँ मिनेटमै हिमालयन दश खेलाडीमा झरेको थियो । दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सेन्टर लाईनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर उरावलाई रेफ्री नविन्द्र महर्जनले सिँधै रातो कार्ड दिएका थिए ।

३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि-किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । सुरुवातबाटै दबाबमा आएको ए डिभिजन लिग क्लब शेर्पाले पुनरागमन गर्न सकेन । दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाए । काउन्टर एट्याकमा आशिषले मैदानको मध्य भागबाट एक्लै बल अघि बढाउँदै गोल गरेका थिए ।

उपाधिसंगै चर्च ब्वाइजले दश लाख नगद र उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । विधागत पुरस्कारतर्फ पनि जितपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्बाईजकै वर्चस्व रह्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक चर्चका प्रिसो, डिफेण्डर फ्र्यांकलिन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं चुनिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement