काठमाडौं । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ ।
अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र छनोट खेल्ने भएको हो । छनोटमा नेपाल समूह सीमा रहेको थियो । नेपाल सम्मिलित समूहमा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थियो । तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएका हुन् ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । दुवै खेल साँझ ६ बजे सुरु हुनेछ ।
छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् । एन्फाले दुई खेलका टिकटदर पनि तोकेको छ । सामान्यतर्फ तीन सय र भीआईपीतर्फ एक हजार टिकटदर तोकिएको छ । छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् ।