भोजपुर । भोजपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप यही चैत १० गतेबाट हुने भएको छ ।
जिल्ला फुटबल संघ भोजपुरले बुधबार पत्रकार सम्मेलन गर्दै गोल्डकपमा यूकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, एनबीवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ, बसाहा क्लब उदयपुर र आयोजक गरी आठ टिम सहभागी हुने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।
प्रत्येक वर्ष सञ्चालन हुँदै आएको जिल्लाकै ठूलो पुरस्कार राशिको गोल्डकपमा ३२ लाख खर्च लाग्ने आयोजकको जनाएको छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रूपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।
उक्त प्रतियोगिताको मुख्य प्रयोजक भोजपुर नगरपालिका रहेको छ । सह-प्रयोजकमा शिवम् पुटवेक्स प्रालि, अन्नपूर्ण सिमेन्ट, सीजी ब्रअरी रहेका आयोजकले बताएको छ । गोल्डकप चैत १६ गते समापन हुनेछ ।