घरेलु टोली राष्ट्रिय जागृतिलाई २-० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
घरेलु टोली राष्ट्रिय जागृतिलाई २-० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश

इटहरी । घरेलु टोली राष्ट्रिय जागृति क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

इटहरी रंगशालामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले २-० गोल अन्तरले जितेको हो । पहिलो हाफमा १-० गोलअन्तरको अग्रता बनाएको चर्च ब्वाइजले दोस्रो हाफमा १ गोल गर्‍यो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाई र मौसम लिम्बूले गोल गरे । खेलको सुरुवातबाटै दबाब बनाएको चर्च ब्वाइजले ४५औं मिनेटमा अग्रता बनायो । आशिष चापागाईलाई डी-बक्सभित्र राष्ट्रिय जागृतिका गोलरक्षक निरोज चौधरीले लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो । कप्तान मिलन राईको पेनाल्टी प्रहार रिबाउन्ड भएर आएपछि पाएको अवसरलाई चापागाईले गोलमा परिणत गरे ।

५६औं मिनेटमा मौसम लिम्बूले अग्रता दोब्बर बनाए । विवेक पौडेलको स्थानमा मैदान प्रवेश गरेको २ मिनेट नबित्दै लिम्बूले गोल गरेका थिए । भोलिको खेल मछिन्द्र क्लब काठमाडौं र कञ्चनजंगा फुटबल क्लब भारतबीच हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.