हालान्डको ह्याट्रिकसँगै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
हालान्डको ह्याट्रिकसँगै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

इतिहाद । म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिटीले बर्न्लीलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । सिटीको जितमा नर्वेका स्टार अर्लिङ हालान्डले ह्याट्रिक गरे ।

इतिहादमा भएको खेलमा सिटीले पुरै समय खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो । हालान्डको गोलमा पहिलो हाफमा सिटी २ - ० गोलले अघि रह्यो ।

३२ औँ मिनेटमा युलियन अल्भारेजले दिएको पासमा उनले सिटीको खाता खोले । त्यसको तीन मिनेपछि उनकै गोलमा सिटीले अग्रता बनायो । ५९ औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे । म्यानचेस्टर सिटीको गोल मेसिन हालान्डको पाँच दिनको अन्तरालमा यो दोस्रो ह्याट्रिक हो ।

इंग्लिस फुटबलमा डेब्यु गरेकै सिजन उनले आफ्नो छैटौँ ह्याट्रिक पूरा गरेका छन् । योसँगै उनको डेब्यु सिजनमा गोल संख्या ४२ गोल पुगेको छ ।

६२ र ७३ औँ मिनेटमा युलियन अल्भारेजले गोल गर्दै सिटीलाई ५-० गोलले अघि राखे । ६८ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै टिमको ६-० गोलको जित सुनिश्चित गरे ।

प्रशिक्षक पेप ग्वार्डिवालाको नेतृत्वमा सिटी सात सिजनमा छैटौँ पटक एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो । अब सिटीले फाइनल प्रवेशका लागि ग्रिस्बी टाउन अथवा प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग भिड्नेछ । यो सिजन ग्वार्डिवालाको टोलीसँग एफए कपसहित प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने सम्भावना छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.