नेपाली क्रिकेट टिमलाई यसरी गरियो सम्मान (तस्बिरसहित)

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाली क्रिकेट टिमलाई यसरी गरियो सम्मान (तस्बिरसहित)

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ ।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी फुटबल क्लब र एपीएफ क्लबबीचको मध्यान्तरमा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिएको हो । खेलाडीले उक्त समयमा उपस्थित दर्शकसँग खुसी साटेका थिए । नेपाली टोलीलाई विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा भएको अन्तिम त्रिकोणात्मक शृंखलामा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसहित अन्य पदाधिकारी तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलगायतले खेलाडीलाई सम्मान गरेका हुन् । एमडीएसीले मनाङ र एपीएफबीचको खेलमा टिकटबाट उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गर्ने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.